- मोबाइलबाटै बिजुलीको बिल तिर्ने व्यवस्था प्रभावकारी बनाउन ऊर्जामन्त्रीको निर्देशन ।
- डिजिटल भुक्तानी अभियानकै रूपमा अघि बढाउन आग्रह ।
- विद्युत् चुहावट नियन्त्रण र संरचना संरक्षणमा जोड ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
सूचना प्रविधिको युगमा नागरिकले विद्युत्को बिल तिर्न कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले प्राधिकरण सञ्चालक समितिबाट ‘डिजिटल पेमेन्ट’लाई प्रभावकारी रूपमा विस्तार गर्ने योजना स्वीकृत भइसकेकाले त्यसको तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो ।
हेटौँडामा विद्युत् डिभिजन कार्यालयका प्रमुखसँगको छलफलमा उहाँले डिजिटल भुक्तानीलाई अझ विस्तार गर्नुपर्ने बताउनुभयो । यसबाट नागरिकको समय र लागत बचत हुनुका साथै कर्मचारी व्यवस्थापनमा समेत सहज हुने भएकाले डिजिटल भुक्तानीलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
विद्युतीय भुक्तानीको ग्राफ बढे पनि अपेक्षाअनुसार सन्तोषजनक नरहेको र अझै पनि नागरिक बिल तिर्न लाइनमा बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
“सुरु हुँदा यसको प्रतिशत ह्वात्तै बढ्यो । तर गत वर्ष एक प्रतिशतभन्दा बढेन । यो त गम्भीर विषय हो,” मन्त्री श्रेष्ठले भन्नुभयो, “सूचना प्रविधिको जमानामा अहिले नागरिक लाइन बसेर पैसा तिर्न आउनुपर्छ भनेपछि प्राधिकरणकै तर्फबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने देखेको छु ।”
विद्युत् चुहावट नियन्त्रण र विद्युत् संरचनाको संरक्षण सबैको समान दायित्व रहेको जनाउँदै उहाँले पोल पुनर्निर्माणसँगै मर्मतसम्भार र नियमित गस्ती गर्न डिभिजन प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
उहाँले डिभिजन कार्यालय प्रमुखहरूलाई निर्णय गर्ने तहमा सुशासन र शासकीय सुधारलाई मूलमन्त्र बनाएर जिम्मेवारी बहन गर्नसमेत निर्देशन दिनुभयो । रासस
