- २०० टावर र १ हजार ५९७ स्थानमा फोरजी विस्तार गरिने ।
- दूरसञ्चार सेवालाई भरपर्दो बनाउन उपकरण र ब्याकअप बढाइँदै ।
- भोटेकोशी बाढीबाट टेलिकमको ८ करोड ८५ लाखभन्दा बढी क्षति ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा तिमिल्सिनाले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको तथा विद्युत् र पावर ब्याकअपको अभावमा मोबाइल टावर लामो समय सञ्चालन हुन नसक्ने अवस्था रहेको बताउनुभयो ।
यस्ता समस्या समाधानका लागि नेपाल टेलिकमलाई विस्तृत कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
मन्त्री डा. तिमिल्सिनाले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रमा मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताउनुभयो ।
मोबाइल सेवाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि नेपाल टेलिकमका नयाँ २०० वटा टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न एक हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरणको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको उहाँले बताउनुभयो ।
विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यले नेपाल टेलिकमका टावरमा पावर ब्याकअपको क्षमता बढाउने काम भइरहेको मन्त्री डा. तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६०० भन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको छ ।
यसबाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा आठदेखि १० घण्टा तथा सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । थप २०० थान ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
विद्यमान ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्न भएको बोलपत्र सम्झौताको चरणमा रहेको मन्त्री डा तिमिल्सिनाले बताउनुभयो । सम्भव भएसम्म सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय विद्युत् प्रसारण नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा ब्याट्री जोड्ने तार चोरी हुने र कतिपय टावरमा भौतिक क्षति हुने गरेको उहाँले बताउनुभयो । यस्ता घटनाका कारण दूरसञ्चार सेवामा पटक-पटक समस्या आउने गरेको उल्लेख गर्दै उहाँले दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याउने तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने बताउनुभयो ।
भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा रु आठ करोड ८५ लाख १२ हजार ६८५ बराबरको क्षति भएको मन्त्री डा तिमिल्सिनाले जानकारी दिनुभयो ।
रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो । तीमध्ये त्रिशूली-३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । पूर्णरूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइसकिएको उहाँले बताउनुभयो ।
तीन साइट तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको उहाँले जानकारी दिनुभयो । टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार जडान गरी सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
रसुवा, नुवाकोट र धादिङमा रहेको कुल ६५ दशमलव तीन किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव नौ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकोमा २७ दशमलव चार किलोमिटर मर्मत भइसकेको मन्त्री डा तिमिल्सिनाले जानकारी दिनुभयो ।
वायरलाइन नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीनवटा ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका तथा केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेको उहाँले बताउनुभयो । ती ओएलटीमध्ये अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभमा क्षति पुगेको थियो । हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको मन्त्री डा तिमिल्सिनाले बताउनुभयो । रासस
