RayNewsDaily
बागलुङ र पाल्पामा पहिरोमा ६ जनाको मृत्यु, तीन जना बेपत्ता

 

  • बागलुङमा एकै परिवारका चार जनाको मृत्यु ।

  • पाल्पामा दुई जनाको मृत्यु, तीन जना बेपत्ता ।

  • दुवै जिल्लामा खोजी तथा उद्धार कार्य जारी ।

 

बागलुङ/पाल्पा । अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङ र पाल्पामा छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका-३ की श्यामकुमारी विक र उहाँका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । पहिरोमा पुरिएका चार जनामध्ये तीन जनाको शव केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ ।

यसैगरी, पाल्पाको माथागढी गाउँपालिका-२ र रिब्दीकोट गाउँपालिका-६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो । दुवै जनाको शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।

पाल्पाकै माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा उहाँका परिवारका दुई जना र छिमेकीकी एक छोरी गरी तीन जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले राससलाई जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update