- सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो ।
- कुल ऋण दायित्व जिडिपीको ४५ प्रतिशतभन्दा बढी ।
- भदौसम्म ८५ अर्बभन्दा बढी साँवा-ब्याज भुक्तानी ।
काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशतभन्दा बढी पुगेको हो ।
कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ लाख र बाह्यतर्फ रु १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रहेको छ । जिडिपीका आधारमा आन्तरिक ऋण २० दशमलव ६३ प्रतिशत र बाह्य ऋण २४ दशमलव ४१ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा सरकारले रु ६ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा भदौ मसान्तसम्म रु ६१ अर्ब पाँच करोड ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको ९ दशमलव २८ प्रतिशत हो ।
चालु आर्थिक वर्षमा आन्तरिकतर्फ रु ४ खर्ब १० अर्ब र बाह्यतर्फ रु २ खर्ब ४८ अर्ब २८ लाख ऋण उठाउने लक्ष्य छ । भदौ मसान्तसम्म आन्तरिकतर्फ रु ५० अर्ब र बाह्यतर्फ रु ११ अर्ब पाँच करोड ऋण उठाइएको छ ।
सरकारी ऋणको साँवा र ब्याज भुक्तानीका लागि चालु आर्थिक वर्षमा रु ४ खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन गरिएको छ । भदौ मसान्तसम्म रु ८५ अर्ब एक करोड छ लाख भुक्तानी भइसकेको छ । यो वार्षिक विनियोजनको २० दशमलव ३४ प्रतिशत हो ।
कुल गार्हस्थ्य उत्पादनको आधारमा भदौ मसान्तसम्म कुल ऋण सेवा खर्च १ दशमलव २९ प्रतिशत रहेको कार्यालयले जनाएको छ । रासस
