- फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडियो ।
- पर्यटन व्यवसायीले उडानलाई पोखराको पर्यटन र अर्थतन्त्रका लागि अवसर भने ।
- होटल तथा रेष्टुराँले यात्रुका लागि २५ प्रतिशतसम्म छुट ल्याए ।
गण्डकी । फ्लाई दुबईले दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडान सुरु गरेसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागत र पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि बुधबार विमानस्थलमा आफन्त, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा पर्यटन व्यवसायीको उपस्थिति थियो ।
पहिलोपटक दुबईबाट सिधा उडानमार्फत पोखरा आएका यात्रुको स्वागत गर्न विमानस्थल पुगेका स्थानीयवासीले लामो समयदेखिको पोखरेलीको अन्तरराष्ट्रिय उडानको सपना पूरा भएको बताएका छन् । पोखरा महानगरपालिका-३२ का कृष्णबहादुर खड्काले दुबईबाट सिधै पोखरा आएर घर जान पाउँदा खुसी लागेको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले गरेको लामो सङ्घर्षपछि नियमित उडान सुरु हुनु गर्वको विषय भएको बताउनुभयो । उहाँले उडानलाई दिगो र प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुबईसँग मात्र नभई दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न सहरसँग जोडिएको बताउनुभयो । उहाँका अनुसार यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गरेको छ । पर्यटन बोर्डले दुबईलगायत अन्तरराष्ट्रिय सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-दुबई सिधा उडान पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो ।
दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट करिब साढे चार घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो । एक सय १३ जना यात्रु लिएर आएको जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो । पोखराबाट साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर जहाज दुबई फर्किएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उडानसँगै पोखरासहित गण्डकी प्रदेशको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन र यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ । पोखराबाट दुबई हुँदै युरोप, अमेरिका तथा अन्य गन्तव्यमा जाने यात्रुलाई समेत यसले सहजता थप्ने उहाँले बताउनुभयो ।
पहिलो उडानबाट आएका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी तथा पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा यात्रुलाई उपहार तथा प्रवर्द्धनात्मक सामग्री प्रदान गरिएको थियो । फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षित विभिन्न छुट योजनाबारे पनि जानकारी गराइएको उहाँले बताउनुभयो ।
फ्लाई दुबईको नियमित उडानसँगै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले समेत छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पोखराका ५० भन्दा बढी होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
पहिलो उडानबाट दुबई हुँदै पोखरा आएका यात्रुका लागि एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको थियो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरीदेखि सञ्चालनमा आए पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने नीति लिएपछि फ्लाई दुबईले नियमित उडान सुरु गरेको हो । दुबई-पोखरा-दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो ।
अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले विमानस्थलका विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।
फ्लाई दुबईको उडान पोखरामा दैनिक साँझ ६ः१५ बजे अवतरण र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ । दुबईलाई ट्रान्जिट हब बनाएर पोखराबाट विश्वका विभिन्न गन्तव्यमा यात्रा गर्न सकिने बताइएको छ । फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक ‘कोडसेयर’ साझेदारीअन्तर्गत दुबई-पोखरा-दुबई उडान सञ्चालन गरिएको हो । रासस
