- फ्लाई दुबईको विमान आज साँझ ६ः१५ बजे पोखरा अवतरण हुँदै ।
- ५० होटलमा २५ प्रतिशत र रेष्टुराँमा १५-२० प्रतिशतसम्म छुट ।
- दुबई हुँदै युरोप, अमेरिका र अष्ट्रेलिया यात्रा सहज हुने अपेक्षा ।
गण्डकी । दुबईबाट फ्लाई दुबईको बोइङ ७३७ म्याक्स विमान आज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडानअन्तर्गत पहिलोपटक पोखरा आउन लागेको विमानको स्वागतका लागि विशेष तयारी गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार विमान अवतरण गरेपछि पानीको फोहराले स्वागत गरिनेछ । सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् । पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै दुबई जाने यात्रुको बिदाइ पनि गरिनेछ ।
यूएईका राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण औपचारिक स्वागत समारोह भने रद्द गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा दुबईबाट आउने र पोखराबाट दुबई जाने यात्रुलाई विशेष उपहार प्रदान गरिने नाट्टा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएको बताउनुभयो । यसबाट पर्यटन, व्यापार तथा अन्तरराष्ट्रिय आवागमन थप सहज हुने उहाँको विश्वास छ ।
फ्लाई दुबईको विमान साँझ ६ः१५ बजे पोखरा अवतरण गरी ७ः१५ बजे यात्रु र कार्गोसहित दुबईका लागि उड्नेछ । उडान सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिनुभयो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरीदेखि सञ्चालनमा आए पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई उडानका लागि अनुमति दिएको थियो ।
अन्तरराष्ट्रिय वायुसेवा आकर्षित गर्न सरकारले विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ ।
फ्लाई दुबईका यात्रुलाई लक्षित गर्दै पोखराका होटल तथा रेष्टुराँले पनि छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि ५० वटा होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको छ ।
रेवान पोखराले आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
फ्लाई दुबईले हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको कोडसेयर साझेदारीअन्तर्गत हुने यस उडानबाट पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायत गन्तव्यमा यात्रा गर्न सहज हुने जनाइएको छ । रासस
