RayNewsDaily
नेपालका विपद्ले जलवायु सङ्कटको खतरा देखायो : गुटेरेस
  • नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको गुटेरेसको भनाइ ।
  • हिमाली मुलुकमा तापक्रम वृद्धिले हिमनदी पग्लिनेक्रम तीव्र । 
  • जलवायु न्याय र प्रभावित मुलुकलाई वित्तीय सहयोगको माग ।

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा पछिल्ला विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको बताउँदै विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताउनुभयो । तापक्रम वृद्धि र हिमनदी पग्लिनेक्रम निरन्तर बढ्दै गए विश्वले अझ ठूलो समस्या सामना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

महासचिव गुटेरेसले तीन वर्षअघि नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिनुभएको स्मरण गर्नुभयो । नेपालको भोटेकोशी बाढीजस्ता पछिल्ला विपद्ले जलवायु परिवर्तनका असरलाई वास्तविकतामा परिणत गरेको उहाँले बताउनुभयो ।

“तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ”, उहाँले भन्नुभयो, “त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ ।”

guteres2-1790152222.jpg
महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम अब भविष्यको विषय नभई वर्तमानको वास्तविकता बनिसकेको बताउनुभयो । विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाइरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्नेहरूले नै त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन । विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु”, गुटेरेसले भन्नुभयो, “जलवायु अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गर्न र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्दछु ।” रासस

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update