RayNewsDaily
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति
  • अमेरिकी प्रतिबन्धलाई चीनले ‘अवैध एकपक्षीय प्रतिबन्ध’ भन्यो 
  • इरानी एयरलाइन्सलाई सेवा दिने कम्पनीमाथि पनि कारबाहीको चेतावनी 
  • अमेरिका-इरान तनावबीच चीनको आपत्ति 

बेइजिङ । इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले त्यसको विरोध गरेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी एयरलाइन्सलाई विश्वभर सञ्चालन गर्न कठिन हुने चेतावनी दिएको भोलिपल्ट चिनियाँ विदेश मन्त्रालयले अमेरिकी कदमलाई ‘अवैध एकपक्षीय प्रतिबन्ध’ भनेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अनुमतिबिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभयो । उहाँको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबारदेखि हुने शिखर वार्ताअघि आएको हो ।

बेसेन्टले सेप्टेम्बर २३ देखि इरानी विमानलाई इन्धन, अवतरण सेवा वा टिकट उपलब्ध गराउने कम्पनी अमेरिकी डलर प्रणालीबाट अलग हुने जोखिममा पर्ने बताउनुभएको थियो । अमेरिकाले यसै महिना बाँकी इरानी एयरलाइन्समाथि समेत प्रतिबन्ध लगाएको छ । इरानको उड्डयन क्षेत्रलाई सहयोग गर्ने इरानबाहिरका कम्पनी तथा संस्थालाई पनि प्रतिबन्धको दायरामा राखिएको छ ।

अमेरिका र इरानबीच फेब्रुअरीको अन्त्यदेखि जारी द्वन्द्वका क्रममा अमेरिकी-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता र वरिष्ठ सैन्य अधिकारी मारिएपछि तनाव बढेको थियो । त्यसपछि इरानले ऊर्जा ढुवानीका लागि महत्वपूर्ण हर्मुजको जलघाँटी अवरुद्ध गरेपछि विश्व बजारमा तेलको मूल्य बढेको छ ।

बेसेन्टको पछिल्लो भनाइ चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग आर्थिक विषयमा छलफल गरेको भोलिपल्ट आएको हो । चीन इरानको प्रमुख आर्थिक साझेदार तथा कूटनीतिक समर्थक हो ।

इरानको उड्डयन क्षेत्रले लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण विमान, स्पेयर पार्टपुर्जा, मर्मतसम्भारका सामग्री तथा सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएको छ । एएफपी

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update