- नेप्से ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुग्यो ।
- कारोबार रकम बढेर ७ अर्ब ५ करोड रुपैयाँ नाघ्यो ।
- मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा ।
- स्नो रिभर्स सर्वाधिक घट्यो ।
रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । गत शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकामा आज ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको हो । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो ।
यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत र मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । स्नो रिभर्सको शेयरमूल्य भने आज सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४४ करोड ४० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँ र घलेम्दी हाइड्रोको २२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूहको परिसूचक घटेको छ ।
