RayNewsDaily
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा २५ प्रतिशतसम्म छुट
  • फ्लाई दुबईका यात्रुलाई पोखराका होटलमा २५ प्रतिशतसम्म छुट 
  • रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था 
  • पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायी सक्रिय 

गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्न लागेको दुबई-पोखरा-दुबई सीधा उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटक आकर्षित गर्न होटल तथा रेष्टुराँमा छुट सुविधा दिइएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

“छुट योजनामा अहिलेसम्म ५० वटा होटल समावेश भएका छन्, यो सङ्ख्या अझै थपिन्छ”, उहाँले भन्नुभयो, “छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल छन्, कतिपय तारे होटल पनि छन् ।”

बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो । पहिलो चरणमा तीन महिनाका लागि ल्याइएको छुट योजना आवश्यकताअनुसार थप गर्न सकिने उहाँको भनाइ छ ।

“फ्लाई दुबईको पोखरा-दुबई उडानलाई नियमित र दिगो बनाउनु होटल व्यवसायीको पनि दायित्व सम्झेर छुट योजना ल्याइएको हो”, उहाँले भन्नुभयो ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ । रेवानका अध्यक्ष वसन्त गौतमका अनुसार फ्लाई दुबईको बोर्डिङ पास लिएर आउने यात्रु तथा पर्यटकले उक्त सुविधा पाउनेछन् ।

“तीन महिनासम्म छुट योजना लागू हुन्छ, पछि परिस्थिति हेरेर थप्न पनि सकिन्छ”, उहाँले भन्नुभयो, “पोखराबाट हुने फ्लाई दुबईको उडानलाई दिगो र सफल बनाउन सबैको हातेमालो चाहिन्छ ।”

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखराका अन्य पर्यटन व्यवसायीले पनि फ्लाई दुबईको उडानलाई लक्ष्य गरी छुट योजना ल्याउने तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार एकीकृत छुट प्याकेज बनाएर एप्समार्फत सार्वजनिक गर्ने तयारीसमेत भइरहेको छ ।

पोखरा पर्यटन परिषद्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीलगायत पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि उडान प्रवर्द्धनमा सक्रियता बढाएका छन् ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गर्न लागेको हो ।

दुबई-पोखरा-दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । उडान तालिकाअनुसार दुबईबाट आएको जहाज बुधबार साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पोखराबाट यात्रु लिएर सोही दिन साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो ।

फ्लाई दुबईका बोइङ ७३७ तथा म्याक्स ८/म्याक्स ९ विमानले पोखरा-दुबई उडान गर्नेछन् । ती जहाजमा एक सय ३८ देखि एक सय ८९ जनासम्म यात्रु क्षमता रहेको सूचना अधिकारी रावतले बताउनुभयो । उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसँगको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको छ । फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा-दुबई उडान सञ्चालन हुनेछ । यसबाट पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकी सहरमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने जनाइएको छ ।

एयरलाइन्सबीचको कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई समेत सहज बनाउनेछ । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने यस उडानबाट मुलुकको पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । उडानलाई दिगो बनाउन सरकारी निकाय तथा निजी क्षेत्रबाट बजारीकरण र प्रवर्द्धनका पहलसमेत भइरहेका छन् ।

सुरुमा एक महिनाका लागि दिनमा एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update