- डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएपछि कारोबार खुल्दै ।
- असोज ५ गतेको कारोबार प्राविधिक जोखिमका कारण रोकिएको थियो ।
- घटनाबारे अध्ययन गर्न नेप्से र निरीक्षण टोली परिचालन ।
रे समाचार/काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ ।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गर्न लागिएको हो ।
डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो । समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो ।
नेपाल धितोपत्र बोर्डले कारोबार स्थगनको विषयमा अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ । बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ ।
डाटा सेन्टरको प्राविधिक समस्या समाधान भएसँगै आजदेखि कारोबार पुनः सञ्चालन हुने भए पनि घटनाको प्राविधिक कारण र सम्भावित प्रणालीगत जोखिमबारे भने थप अध्ययन हुन बाँकी रहेको छ ।
