RayNewsDaily
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेको आजको कारोबार स्थगित
  • डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि असोज ५ को कारोबार स्थगित ।
  • ७२ कारोबार सदस्य कम्पनीको सर्भरमा समस्या देखिएको नेप्सेको भनाइ ।
  • समस्या समाधान नभएसम्म कारोबार सञ्चालन गर्दा प्रणालीमा क्षति पुग्न सक्ने ।

रे समाचार/काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ ।

नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरिएको हो । नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहे पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ ।

डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएकाले कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।

यसैबीच, स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो ।

सोही सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो ।

नेप्सेले प्राविधिक समस्या समाधान नभइसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगित गरिएको स्पष्ट पारेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update