- एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मै बिक्री गर्न आग्रह ।
- वैकल्पिक मार्गबाट ल्याउँदा थपिएको रु १०५ ढुवानी शुल्क हटाइयो ।
- कृष्णभीर खण्ड सञ्चालनमा आएपछि पुरानै मूल्यमा बिक्री गर्न आग्रह ।
रे समाचार/काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यास बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मै ग्यास बिक्री गर्न आग्रह गरेको हो ।
भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि उद्योगीहरूले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँ ल्याएर बिक्री गर्दै आएका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनुपरेको भन्दै उद्योगीहरूले प्रतिसिलिण्डर रु १०५ दशमलव ३८ ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ग्यास ल्याएर बिक्री गर्दै आएका थिए ।
