- नेप्से ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा ।
- कारोबार रकम ५ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाघ्यो ।
- धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशत बढ्यो ।
रे समाचार/काठमाडौँ । ।शेयर बजार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । हिजो ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ६ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ ।
आज मूल्य घटेका स्टकहरूको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन् ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।
