- नेप्से २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा ।
- कारोबार रकम घटेर ५ अर्ब ३८ करोडमा सीमित ।
- १३ वटै उपसमूहको परिसूचक घट्यो ।
रे समाचार/काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेमा आज करेक्सन आएको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक १०२.०६ अंक बढेको थियो । बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा आज नेप्सेमा करेक्सन आएको हो । आज नेप्से परिसूचक २१.१९ अंक घटेर २६१२.४२ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि करिब साढे ५ प्रतिशतले बढेको छ । एनएमबी हाइब्रिड फण्ड एल-२ को इकाईमूल्य भने सर्वाधिक ७.७३ प्रतिशतले घटेको छ । रिज लाइन इनर्जीको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३७ करोड ९५ लाख ६४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको २५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशतले घटेको छ ।
