RayNewsDaily
मकवानपुरमा इभी दुर्घटना : चारको मृत्यु, चार जना घाइते
  • मकवानपुरमा इभी दुर्घटना हुँदा चार जनाको मृत्यु ।
  • दुर्घटनामा दुई पुरुष र दुई महिला घाइते ।
  • मृतक चारै जनाको पहिचान खुल्यो ।

रे समाचार/हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व, धनुषा, पर्सा र बाराका एक-एक जना रहेका छन् । नवलपरासी पूर्वको कावासोती नगरपालिका-१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका-४ का ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई नगरपालिका-२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर-३ लिप्निमालका ३२ वर्षीय सरफरोस मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकहरूको पहिचान साथमा रहेको पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०७२० नम्बरको भाडाको इभी मंगलबार दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको हो ।

गाडीमा चालकसहित आठ जना सवार थिए । दुर्घटनामा दुई पुरुष र दुई महिला घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा परिचालन भएको थियो ।

त्यस्तै, नेपाली सेनाको गोरखबहादुर गणबाट १० जना र सशस्त्र प्रहरी विपद् व्यवस्थापन बेस कुलेखानीबाट १० जनाको थप टोलीसमेत उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update