- नेप्से ४८.५७ अंक बढेर २६३३.६२ विन्दुमा ।
- कारोबार रकम बढेर ८ अर्ब २९ करोड रुपैयाँ पुग्यो ।
- १३ वटै उपसमूहको परिसूचकमा वृद्धि ।
रे समाचार/काठमाडौँ । सरकारले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेसँगै पूँजी बजारमा उछाल आएको छ । कार्ययोजना सार्वजनिक भएपछि आज खुलेको शेयर बजार मापक नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । हिजो ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशतले बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्रको मूल्य भने आज सर्वाधिक ५.५५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशतले बढेको छ ।
