पैचिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ यस वर्षको ब्रिक्स सम्मेलनमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। उहाँ किर्गिस्तानको राजधानी बिस्केकमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएको एक साताभन्दा केही बढी समयपछि ब्रिक्स सम्मेलनमा सहभागी हुन लाग्नुभएको हो।

लगातार हुन लागेका यी दुई बहुपक्षीय सम्मेलनको मुख्य विषय एउटै छ-"ग्लोबल साउथ अर्थात् विकासशील मुलुकहरूबीच एकता, सहकार्य र सामूहिक प्रगतिलाई थप सुदृढ बनाउनु।"
विस्तारिँदै गएको सहकार्यको दायरा
गत साता बिस्केकमा सम्पन्न एससीओ शिखर सम्मेलनमा राष्ट्रपति सीले एससीओ ग्लोबल साउथमा जरा गाडेको, यसको भावना ग्लोबल साउथसँग जोडिएको र यो दक्षिण–दक्षिण सहकार्यको महत्वपूर्ण आधार भएको बताउनुभएको थियो। उहाँले ‘एससीओको बुद्धिमत्ता’ मार्फत ग्लोबल साउथको विकास र उत्थानलाई अघि बढाउन आह्वान गर्नुभएको थियो।
आगामी ब्रिक्स सम्मेलनमा पनि राष्ट्रपति सीले ग्लोबल साउथबीचको सहकार्यका लागि थप प्रस्ताव अघि सार्ने अपेक्षा गरिएको छ। उहाँले ब्रिक्स समूह ग्लोबल साउथको अग्रपंक्तिमा रहेको बताउँदै आउनुभएको छ।
यस वर्ष एससीओ स्थापनाको २५औँ र ब्रिक्स सहकार्य संयन्त्रको २०औँ वार्षिकोत्सवसमेत परेको छ। ग्लोबल साउथको सामूहिक उदयसँगै यी दुवै समूहले पछिल्ला वर्षहरूमा सदस्य संख्या र विकासशील साझेदारहरूको सञ्जाल विस्तार गरेका छन्।
एससीओ र ब्रिक्समा आबद्ध मुलुकहरूले संयुक्त रूपमा विश्व जनसंख्याको आधाभन्दा बढी हिस्सा र विश्व अर्थतन्त्रको करिब ३० प्रतिशत हिस्सा ओगट्छन्। यसले यी दुवै समूह ग्लोबल साउथबीचको सहकार्यका प्रमुख मञ्चका रूपमा विकसित हुँदै गएको देखाउँछ।
राष्ट्रपति सीले सदस्य मुलुकका अन्य नेताहरूसँग मिलेर समूहको विस्तारमा भूमिका खेल्नुका साथै ‘ब्रिक्स प्लस’ सहकार्य अवधारणा र साझा भविष्यसहितको एससीओ समुदाय निर्माणजस्ता नयाँ विचार तथा पहल अघि सार्नुभएको छ। यसले ग्लोबल साउथका मुलुकबीच पारस्परिक लाभमा आधारित सहकार्यका नयाँ सम्भावना खोलेको छ।
इन्डोनेसियाको युनिभर्सिटी अफ इन्डोनेसियास्थित आसियान–चीन अनुसन्धान केन्द्रका प्रमुख हुम्प्रे अर्नाल्डो रसेलका अनुसार चीनले वैचारिक र व्यावहारिक दुवै रूपमा ब्रिक्स र एससीओलाई स्पष्ट दृष्टिकोण र गति प्रदान गर्दै आएको छ। उहाँका अनुसार चीनले ब्रिक्सलाई तुलनात्मक रूपमा सीमित समूहबाट विकासशील मुलुक र व्यापक ग्लोबल साउथबीचको सहकार्यको ठूलो मञ्चमा रूपान्तरण गर्न योगदान गरेको छ।
विकासलाई प्राथमिकता
गत साता एससीओ शिखर सम्मेलनमा राष्ट्रपति सीले सबै मुलुकलाई विकासलाई प्राथमिकतामा राख्न र साझा समृद्धिको सम्भावना विस्तार गर्न प्रतिबद्ध रहन आह्वान गर्नुभयो।
अस्थिर र तीव्र गतिमा परिवर्तन भइरहेको अन्तर्राष्ट्रिय परिस्थितिबीच विकासका क्षेत्रमा अझै गम्भीर चुनौतीहरू छन्। ग्लोबल साउथका लागि समृद्धिको यात्रा सहज र सीधा नहुने उहाँको भनाइ छ।
राष्ट्रपति सीले सन् २०२४ मा रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा ग्लोबल साउथ विकासका लागि उदाउने र विकासकै माध्यमबाट समृद्ध बन्ने बताउँदै साझा विकासको मुख्य प्रेरक शक्ति आफैँ बन्नुपर्नेमा जोड दिनुभएको थियो।
सीका लागि विकास सधैँ प्राथमिकताको विषय रहँदै आएको छ। उहाँले विकासलाई ‘सबै समस्या समाधान गर्ने मुख्य उपाय’ का रूपमा व्याख्या गर्दै विश्वका सबै मुलुकले संयुक्त रूपमा विकास र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ।
चीनमा गरिबीविरुद्धको अभियानमा कसैलाई पनि पछाडि नछाड्ने धारणा राष्ट्रपति सीले अघि सार्नुभएको छ। उहाँको नेतृत्वमा चीनले चरम गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गरेको थियो, जसलाई ‘इतिहासकै सबैभन्दा ठूलो गरिबी न्यूनीकरण उपलब्धि’ का रूपमा प्रशंसा गरिएको छ।
गरिबी न्यूनीकरण र विकासको यो दृष्टिकोण ग्लोबल साउथमा पनि विस्तार भएको छ। राष्ट्रपति सीले आधुनिकीकरणको यात्रामा कुनै पनि व्यक्ति वा मुलुक पछाडि पर्न नहुने बताउनुभएको छ।
गत साता बिस्केकमा राष्ट्रपति सीले व्यापार, लगानी, सम्पर्क सञ्जाल र ऊर्जादेखि कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र हरित उद्योगसम्म परम्परागत तथा उदीयमान क्षेत्रको सहकार्य सुदृढ बनाउन आह्वान गर्नुभयो।
ग्लोबल साउथका साझा विकास र आधुनिकीकरणका आकांक्षालाई सम्बोधन गर्दै चीनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) अघि सारेको छ। यस वर्ष उक्त पहलको पाँचौँ वार्षिकोत्सव हो।
पछिल्ला पाँच वर्षमा जीडीआईअन्तर्गत २३ अर्ब अमेरिकी डलरभन्दा बढी परिचालन गरिएको, जीविकोपार्जनसँग सम्बन्धित १ हजार ८ सयभन्दा बढी ‘साना तर प्रभावकारी’ परियोजनालाई सहयोग गरिएको तथा विभिन्न पेसाका २ लाखभन्दा बढी व्यक्तिका लागि तालिम कार्यक्रम सञ्चालन गरिएको समाचारमा उल्लेख छ।
कजाकिस्तानको "डेलोभोय कजाकिस्तान" पत्रिकाका प्रधानसम्पादक सेरिक कोर्जुम्बायेभले राष्ट्रपति सीको नेतृत्वमा विकासको अवधारणाले नयाँ अन्तर्राष्ट्रिय आयाम प्राप्त गरेको र मानवजातिको साझा भविष्यसम्बन्धी व्यापक दृष्टिकोणको हिस्सा बनेको बताउनुभएको छ।
विश्व मामिलामा अझ ठूलो आवाजको माग
ग्लोबल साउथको प्रभाव बढ्दै गएसँगै विश्व मामिलामा उसको आवाज पनि अझ बलियो हुनुपर्ने धारणा अघि सारिएको छ।
गत वर्ष चीनको थियानचिनमा आयोजित एससीओ शिखर सम्मेलनमा राष्ट्रपति सीले ग्लोबल गभर्नेन्स इनिसिएटिभ अर्थात् विश्व शासनसम्बन्धी पहल प्रस्ताव गर्नुभएको थियो। यो अझ न्यायपूर्ण र समतामूलक विश्व शासन प्रणाली अघि बढाउने चीनको महत्वपूर्ण प्रस्तावका रूपमा प्रस्तुत गरिएको छ।
यस दृष्टिकोणको केन्द्रमा प्रत्येक मुलुकको विश्व शासनमा स्थान र समान भूमिका हुनुपर्ने मान्यता रहेको छ। राष्ट्रपति सीले लामो समयदेखि अन्तर्राष्ट्रिय मामिला बढी शक्तिशाली मुलुकहरूले मात्र निर्धारण गर्न नहुने बताउँदै आउनुभएको छ।
गत साता बिस्केकमा उहाँले विश्व मामिलामा सबैले छलफल गर्नुपर्ने र अन्तर्राष्ट्रिय मापदण्ड पनि सबैको सहभागितामा तय हुनुपर्ने बताउनुभयो। केही मुलुक वा समूहले मात्र विश्व मामिला नियन्त्रण गर्नु अन्यायपूर्ण भएको र एक वा केही मुलुकको निर्देशनमा चल्ने विश्व शासन वास्तविक बहुपक्षीयता हुन नसक्ने उहाँको भनाइ थियो।
राष्ट्रपति सीले बहुध्रुवीय विश्वको महत्वपूर्ण हिस्सा र त्यसको प्रमुख प्रेरक शक्तिका रूपमा ग्लोबल साउथका मुलुकले अन्तर्राष्ट्रिय मामिलामा अझ बढी प्रतिनिधित्व र प्रभावकारी आवाज पाउनुपर्नेमा जोड दिनुभएको छ।
पछिल्ला वर्षहरूमा एससीओ र ब्रिक्स ग्लोबल साउथका मुलुकले आफ्ना हित अभिव्यक्त गर्ने, साझा धारणा बनाउने र सामूहिक प्रभाव सुदृढ गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित भएका छन्।
राजनीतिक समन्वयमा पनि यी समूहको भूमिका देखिन थालेको छ। दुवै समूहले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तनावका विषयमा संयुक्त धारणा सार्वजनिक गर्दै आएका छन्। यसै वर्ष मार्चमा एससीओ सदस्य राष्ट्रहरूले मध्यपूर्वको घटनाक्रम र इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वक्तव्य जारी गरेका थिए।
राष्ट्रपति सीले विश्व आर्थिक तथा वित्तीय शासन प्रणाली सुधारमा पनि जोड दिँदै आउनुभएको छ। सन् २०१४ मा उहाँसहित ब्रिक्सका अन्य नेताहरूले नयाँ विकास बैंक स्थापनासम्बन्धी सम्झौतामा औपचारिक हस्ताक्षर गरेका थिए। यसले उदीयमान बजार तथा विकासशील मुलुकमा पूर्वाधार र दिगो विकासका लागि वित्तीय सहयोगको नयाँ माध्यम सिर्जना गरेको थियो।
बिस्केकमा सम्पन्न एससीओ शिखर सम्मेलनमा सदस्य मुलुकहरूले एससीओ विकास बैंक स्थापनाको महत्त्वलाई पुनः पुष्टि गरेका छन्।
विश्व मामिलामा प्रभावकारी भूमिका खोज्ने प्रयास अब भविष्य निर्धारण गर्ने उदीयमान क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। यसै वर्ष जुलाईमा राष्ट्रपति सीले विश्व कृत्रिम बौद्धिकता सहकार्य संगठन स्थापनाको घोषणा गर्दै न्यायपूर्ण र समतामूलक विश्वव्यापी एआई शासन प्रणाली निर्माणका लागि संयुक्त प्रयास गर्न आह्वान गर्नुभएको थियो।
उहाँले एआई तथा डिजिटल क्षेत्रमा देखिएको असमानता कम गर्न, ग्लोबल साउथका मुलुकको क्षमता अभिवृद्धिमा सहयोग गर्न र एआई विकासका क्रममा नयाँ ऐतिहासिक अन्याय सिर्जना हुन नदिन व्यापक अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
एससीओ र ब्रिक्सबाहेक चीनले चीन–अफ्रिका सहकार्य मञ्च तथा चीन–आसियान शिखर सम्मेलनजस्ता संयन्त्रमार्फत पनि ग्लोबल साउथबीच सहकार्य र प्रतिनिधित्व विस्तारमा जोड दिँदै आएको छ।
राष्ट्रपति सीले चीन सधैँ ग्लोबल साउथको सदस्य रहेको र विकासशील विश्वकै हिस्सा रहने बताउँदै आउनुभएको छ। अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीनले ग्लोबल साउथलाई आफ्नो हृदयमा राख्ने र त्यसैमा आफ्नो जरा कायम राख्ने उहाँको भनाइ छ। सिन्ह्वा
