- विभिन्न जिल्लाका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर काठमाडौँ पठाइयो ।
- कृष्णभीरमा पहिरोका कारण ग्यासका बुलेट काठमाडौँ जान नसकेपछि वैकल्पिक व्यवस्था ।
- उपत्यकामा ग्यासको अभाव हुन नदिन उद्योगबाटै सिलिन्डर भरेर पठाउन थालियो ।
चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासका बुलेट काठमाडौँ जान नसकेपछि विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो ।
नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीका भरेर पठाइएको छ । जसमध्ये एचपीका एक हजार २१३, नेपाल ग्यासका एक हजार ६७८, गीताका १४० र सागरका एक हजार ५१२ सिलिन्डर छन् ।
यस्तै, नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका पाँच हजार ६१८ सिलिन्डर भरेर काठमाडौँ पठाइएको नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिनुभयो ।
ग्यास वन (एनएल) उद्योग बाराबाट सीताश्री उद्योगका एक हजार ६०९ सिलिन्डर, जगदम्बा ग्यास उद्योग बाराबाट मेट्रो एसटिसी र सूर्य उद्योगका दुई हजार १२१ सिलिन्डर, लियो ग्यास उद्योग बाराबाट उग्रचण्डी र श्रीमाया गरी तीन हजार १८१ सिलिन्डर तथा अम्बर ग्यास उद्योग बाराबाट सिद्धार्थ र मेट्रो एसटिसी गरी एक हजार ९२ सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ ।
उहाँका अनुसार सुपर ग्यास उद्योग पर्साबाट हिमाल कम्पनीका ६६३ सिलिन्डर, मनोज ग्यास उद्योग पर्साबाट उग्रचण्डी र मेट्रो एसटिसीका एक हजार ३७ सिलिन्डर, सहारा ग्यास उद्योग मकवानपुरबाट एभरेष्ट र सुगमका सात हजार ८७७ सिलिन्डर तथा नेपाल ग्यास उद्योग गण्डकी, चितवनबाट एपी, नेपाल र गीता उद्योगका सात हजार ३४८ सिलिन्डर भरेर उपत्यका पठाइएको हो ।
साइबाबा ग्यास उद्योग चितवनबाट श्रीकृष्ण र साइबाबा उद्योगका पाँच हजार ३३७ सिलिन्डर तथा बाबा ग्यास उद्योग चितवनबाट श्री ग्यासका आठ हजार ७१६ सिलिन्डर भरेर काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, नवलपुरमा रहेको जानकी ग्यास उद्योगले श्रीराम र ओम उद्योगका दुई हजार ६४२ सिलिन्डर तथा नवलपरासीमा रहेको चण्डेश्वरी ग्यास उद्योगले सागर उद्योगका एक हजार ६८५ सिलिन्डर भरेर काठमाडौँ पठाएका छन् ।
उपत्यकामा ग्यासको अभाव हुन नदिन ग्यासका बुलेट जान नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर पठाउन थालिएको हो । रासस
