RayNewsDaily
अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो, ५६ प्रतिशत काम सम्पन्न
  • अडिटदेखि बाँधतर्फको २ हजार ५०६ मिटर सुरुङ छेडियो ।
  • आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ ।
  • आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य ।

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ अर्थात् वारपार छिचोलिएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार छेडिएको हो ।

आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ‘ब्रेक थ्रु’ भएको जानकारी दिनुभयो ।

“छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका-४ खाम्लास्थित बाँधतर्फको तीन हजार २८३ दशमलव ३२ मिटरमध्ये हालसम्म एक हजार ९७३ मिटर सुरुङ निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “बाँकी सुरुङ पनि केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।”

हालसम्म आयोजनाको समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना प्रमुख केसीका अनुसार आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।

आयोजनाअन्तर्गत बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ । बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी-दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइको असर अपर म्याग्दी-१ लगायतका जलविद्युत् आयोजना निर्माणमा परेको छ ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका-७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका-७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेशनमार्फत आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने जनाइएको छ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।

ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्राली परामर्शदाता रहेको आयोजनाको मेकानिकल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया जारी छ । अपर म्याग्दी-१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीमा आबद्ध छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update