- नेप्से १५.४३ अंक घटेर २,५४५.४० विन्दुमा ।
- कारोबार रकम बढेर रु ४ अर्ब १९ करोड पुग्यो ।
- १३ वटै उपसमूहको परिसूचक घट्यो ।
रे समाचार/काठमाडौँ । पछिल्ला चार कारोबार दिन बढेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज १५.४३ अंक घटेर २,५४५.४० विन्दुमा झरेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन सोमबार रु तीन अर्ब ८३ करोडको शेयर कारोबार भएकामा आज रु चार अर्ब १९ करोड ८९ लाख २१ हजारको शेयर खरिदबिक्री भएको छ ।
आज अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रु ३९ बढेर रु २९९ मा अन्तिम कारोबार भएको छ । यस्तै, शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ ।
इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य भने आज १५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको रु ४२ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । यस्तै, सेन्ट्रल फाइनान्सको रु १७ करोडभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको रु १६ करोड ५० लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ ।
