- रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनाले तीव्रता पायो ।
- रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा पुनःस्थापित ।
- विद्युत् नपुगेका क्षेत्रमा सोलार प्रणाली वितरण गरिँदै ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनःस्थापना गर्ने कामले तीव्रता पाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न अभियानलाई तीव्रता दिइएको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
बाढीबाट विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि वैकल्पिक उपाय अपनाएर विद्युत् सेवा पुनःस्थापनाको कामलाई तीव्रता दिइएको हो । यसैक्रममा मङ्गलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका-१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ ।
विद्युत् सेवा पुग्न नसकेका स्थानमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत दुई किलोवाट क्षमताका सोलार प्रणाली सामुदायिक आश्रयस्थलमा तथा घरपरिवारका लागि आवश्यकताअनुसार व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने काम पनि अघि बढाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोली र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणका लागि निरन्तर खटिरहेका मन्त्रालयले जनाएको छ । रासस
