RayNewsDaily
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वयको स्थलगत अनुगमन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नुवाकोटको विदुर नगरपालिका-१० स्थित गेर्खुटारस्थित बाढी प्रभावितलाई राखिएको श्री सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिकासँग कुराकानी गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल / रासस
  • बाढीप्रभावित विद्यालयको मन्त्रीद्वयद्वारा स्थलगत अनुगमन ।
  • रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय क्षतिग्रस्त ।
  • ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित ।

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्रीद्वयसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको अवस्था अवलोकन गरेको हो ।

यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्रीद्वयले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँहरूले स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।

अनुगमन टोलीमा स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो। भ्रमण कार्यतालिकाअनुसार अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ, विदुरबाट सुरु गरिएको थियो । त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारि क्षेत्रबाट बाढीप्रभावित स्थानको अवलोकन गरिएको थियो ।

HRB_KTM-1000163503-1788875051.jpg

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना मङ्गलबार नुवाकोटको विदुर नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा सरकारले गरेको कामबारे भएको अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल/रासस

टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर तथा सामुदायिक बहुउद्देश्यीय भवन र विदुरस्थित नुवाकोट दरबारको समेत अवलोकन गरेको थियो । त्यसैगरी, विदुरस्थित कर्भट हल, चन्द्रज्योति माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको पनि अनुगमन गरिएको थियो ।

भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्था तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिइएको थियो । प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफलसमेत गरिएको थियो ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन् । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ । रासस 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update