RayNewsDaily
म्याग्दी नदी बेसिनको विद्युत् जोड्न डाडाखेतमा १३२ केभी सवस्टेशन
  • डाडाखेतमा १३२ केभी सवस्टेशन निर्माण सम्पन्न ।
  • राहुघाट-डाडाखेत प्रसारण लाइन निर्माण अन्तिम चरणमा ।
  • म्याग्दी नदी बेसिनमा १७२.८ मेगावाटका आयोजना निर्माणाधीन ।

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सवस्टेशन निर्माण गरेको हो ।

एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका उपकरण तथा एआइएस प्रविधि जडान भइसकेको डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताउनुभयो ।

“डाडाखेत सवस्टेशनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,” उहाँले भन्नुभयो, “डाडाखेतदेखि राहुघाट जोड्ने २५ किलोमिटर प्रसारण लाइन र राहुघाट सवस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।”

डाडाखेतमा विसं २०७५ देखि सवस्टेशनका लागि जग्गा व्यवस्थापन, घेराबार र आवास भवन निर्माण थालिएको थियो । प्रसारण लाइन तथा दुवै स्थानमा सवस्टेशन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुब्रो (एलएनटी) लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।

पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्म तोकिएको थियो । त्यसपछि तेस्रो पटक सन् २०२६ अगस्ट १६ सम्मका लागि म्याद थपिएको थियो । ठेकेदार कम्पनी एलएनटीका आयोजना व्यवस्थापक शुभासचन्द्र शर्माले आगामी डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटानको आदेश प्राप्त गर्न भएको ढिलाइ, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायबीचको विवादका कारण निर्माण अवधि लम्बिएको हो ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ८२ वटा टावरमध्ये हालसम्म ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । करिब १५ किलोमिटर प्रसारण लाइनमा तार तान्ने काम सकिएको छ ।

२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताका उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सवस्टेशनमा उपकरण राख्ने तथा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी रहेको छ ।

एसियाली विकास बैंकसँग भएको २७ मिलियन अमेरिकी डलरको ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर पुर्‍याइएको छ । एसियाली विकास बैंकले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट-डाडाखेत प्रसारण लाइन निर्माणका लागि ऋण लगानी गरेको हो ।

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।

चालिस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । तुदी पावरले निर्माण गरेको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर निर्माण गरी २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएको तुदी पावरका आयोजना प्रमुख इन्द्र ढकालले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update