RayNewsDaily
पोखरा-दुबई सिधा उडानलाई दिगो बनाउन पर्यटन व्यवसायी एकजुट, असोज ७ देखि सेवा सुरु
  • असोज ७ देखि पोखरा-दुबई सिधा उडान ।
  • उडान दिगो बनाउन पर्यटन व्यवसायी एकजुट ।
  • दुबई हुँदै २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच ।

गण्डकी । आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखरेली पर्यटन व्यवसायीले बजारीकरण र प्रवद्र्धनमा सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरामा आयोजना गरेको अन्तरक्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने यस उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानबाट यहाँको पर्यटन क्षेत्र मात्र नभई सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनुभयो । लामो प्रतीक्षापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान सुरु हुन लागेकाले यसको सफलतासँग पोखरेलीको भविष्यसमेत जोडिएको उहाँको भनाइ छ ।

अध्यक्ष भुजेलले पोखरा-दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी एकजुट भएर लागिपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पनि उडान सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गर्नुभयो ।

“पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ-आफ्नो ठाउँबाट साथ दिनुपर्छ,” उहाँले भन्नुभयो ।

पहिलोपटक सुरु हुन लागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामना गर्दै अवसरमा बदल्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय जगतमा थप पहिचान दिलाउन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उहाँको भनाइ छ ।

फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँको तुलनामा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजार रुपैयाँसम्म सस्तो रहेको बताउनुभयो । उहाँले फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा सिधा उडान गर्दै आएको जनाउँदै टिकट बुकिङमा सहयोग गर्न नाट्टासँग आबद्ध व्यवसायीलाई आग्रह गर्नुभयो ।

महाप्रबन्धक शाहीले पोखरा-दुबई उडानको प्रवद्र्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई छुटलगायत सुविधा उपलब्ध गराइने बताउनुभयो ।

कार्यक्रममा फ्लाई दुबईका दक्षिणपूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले कम्पनीका सेवा र विशेषताबारे प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले पोखरा-दुबई उडान सफल भएमा अन्य अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसमेत पोखरामा आकर्षित हुन सक्ने बताउनुभयो ।

उडान सेवालाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको साथ, सहयोग र एकजुटता आवश्यक रहेको उहाँको भनाइ थियो ।

नाट्टा गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पोखरा-दुबई उडान सफल हुँदा पर्यटन व्यवसायी मात्र नभई मुलुकका अन्य क्षेत्रले पनि प्रत्यक्ष लाभ लिने बताउनुभयो । उहाँले पोखरेली पर्यटन व्यवसायी उडानको सफलता र निरन्तरताका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

केही दिनअघि पोखरा महानगरपालिका र फ्लाई दुबईबीच पर्यटन प्रवद्र्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको थियो ।

यस उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा-दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका विभिन्न सङ्घसंस्थाले चासो र अग्रसरता देखाएका छन् ।

यो उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई दुबई हुँदै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो ।

यसबीचमा फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि दिनमा एकपटक उडान गर्ने घोषणा गरेको कम्पनीले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । वैदेशिक रोजगारी, अध्ययन र घुमफिरका लागि अरब मुलुकसहित अन्य देश जाने यात्रुका लागि पनि यो उडान लाभदायी हुने अपेक्षा गरिएको छ ।

पोखरा-दुबई उडान सञ्चालनसँगै पर्यटकीय राजधानी पोखरा तथा आसपासका पर्यटकीय गन्तव्य भ्रमणका लागि विदेशी पर्यटकसमेत सिधै पोखरा आउन सक्नेछन् । रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update