- नेप्से परिसूचक १८.०७ अंक बढेर २,५६०.८४ विन्दुमा ।
- कारोबार रकम बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुग्यो ।
- पियोर इनर्जीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा ।
रे समाचार/काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक १८.०७ अंक बढेर २,५६०.८४ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ९९ रुपैयाँ ३० पैसा बढेर ७६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।
यसैगरी, गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ भने श्रीनगर एग्रीटेक, कालिका लघुवित्त वित्तीय संस्था र सागर डिष्टिलरीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य भने १५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँको शेयर कारोबार हुँदा सोलु हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ ।
१३ वटा उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।
