- पुटिनद्वारा तीन दिन किएभमाथि आक्रमण रोक्न निर्देशन ।
- अमेरिकी दूत विट्कफ र कुश्नर मस्कोमा ।
- जेलेन्स्कीले रूसी कदमअनुसार कारबाही पुनरावलोकन गर्ने ।
मस्को/किएभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न निर्देशन दिनुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार यस्तो निर्देशन अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको वार्ताको तयारीसँग जोडिएको बताउनुभयो ।
“उहाँहरूले राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्नुहुनेछ । विगतमा यस्ता भेटहरू सामान्यतया निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ । यसबारे हामी छिट्टै तपाईंहरूलाई जानकारी गराउनेछौँ,” पेस्कोभले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो ।
पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नगर्न आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारबीच हुने भेटको परिणाम पर्खन आग्रह गर्नुभयो ।
विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गर्नुभएको थियो । विमानस्थलमा उनीहरूलाई रूसका विशेष राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले स्वागत गर्नुभएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बिहान रूसले किएभ र दक्षिण-पूर्वी उपनगर बोरिस्पिलका विमानस्थलमा आक्रमण गरेको बताएपछि पेस्कोभको यस्तो भनाइ आएको हो ।
जेलेन्स्कीले युक्रेनले रूसी कदमलाई ध्यानमा राखेको र आगामी साता रूसी हवाई क्षेत्रसम्बन्धी आफ्ना कारबाहीको पुनरावलोकन गर्ने बताउनुभयो ।
जेलेन्स्कीले बिहीबार नै ट्रम्पका दूतहरूसँग आगामी दिनमा युक्रेनी राजधानीमा भेटवार्ता हुने अपेक्षा गरिएको बताउनुभएको थियो । सिन्ह्वा
