RayNewsDaily
मदुरोद्वारा लागुऔषध तस्करीको मुद्दा खारेज गर्न माग
  • मदुरोले मुद्दा खारेज गर्न माग ।
  • सार्वभौम उन्मुक्तिको आधारमा दाबी ।
  • नोभेम्बर १७ मा बहस हुने ।

न्युयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गर्नुभएको छ ।

म्यानहट्टनस्थित सङ्घीय अदालतमा बुधबार दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाइएको समयमा भेनेजुएलाले राष्ट्रप्रमुखका रूपमा मान्यता दिएका विदेशी नेताविरुद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन् । राष्ट्रप्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कारबाहीबाट उन्मुक्ति दिने अन्तर्राष्ट्रिय कानुनी परम्परा रहेको उनीहरूको जिकिर छ ।

फ्लोरेसका वकिलहरूले पनि उहाँलाई सार्वभौम उन्मुक्ति प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन् । मदुरोका वकिलहरूले राष्ट्रप्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा उहाँलाई लागू हुने दाबी गरेका छन् । मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ ।

मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउँदै आउनुभएको छ । अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागुऔषध तस्करलाई सहयोग गर्दै हजारौँ टन कोकेन अमेरिका पठाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । अभियोग प्रमाणित भएमा उहाँहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ ।

अमेरिकी सेनाले जनवरीको सुरुआतमा काराकासस्थित निवासबाट मदुरो र फ्लोरेसलाई नियन्त्रणमा लिएर न्युयोर्क ल्याएको थियो । हाल दुवै ब्रुकलिनस्थित कारागारमा हुनुहुन्छ । ट्रम्प प्रशासनले उक्त कारबाहीलाई कानुन कार्यान्वयनको अभियान भनेको छ भने मदुरोले आफ्नो गिरफ्तारीलाई अपहरण भन्दै आफूलाई युद्धबन्दीका रूपमा प्रस्तुत गर्नुभएको छ ।

न्यायाधीश एल्विन के. हेलरस्टेनले अभियोग खारेज गर्ने मागमाथि नोभेम्बर १७ मा मौखिक बहसको मिति तोक्नुभएको छ । मुद्दाको सुनुवाइ आगामी जुन १ मा हुने तय भएको छ । एपी

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update