RayNewsDaily
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
  • बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द ।
  • विदुरका ८३ विद्यालयमध्ये एक दर्जन प्रत्यक्ष प्रभावित, चार भवन पूर्ण क्षति ।
  • विस्थापितलाई राख्न किस्पाङ र बेलकोटगढीका विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन ।

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन् । विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले पनि प्रभावित क्षेत्रका विद्यालय सञ्चालन अनिश्चित रहेको जनाएका छन् ।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका छन् । विद्यालय भवन, सडक र पुलमा क्षति पुगेकाले आवतजावतसमेत कठिन भएपछि तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको विदुर नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार दैनिक जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सक्ने अवस्था भएपछि मात्र विद्यालय सञ्चालन गरिनेछ ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउन सक्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव यति ठूलो होला भन्ने अनुमान गरिएको थिएन । केही विद्यालयले उच्च सतर्कता अपनाएका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

“अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ । केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउने योजना बनाउनेछौँ”, उहाँले भन्नुभयो ।

त्रिशूली नदीको बाढीबाट विदुर नगरपालिकाभित्र सञ्चालित ८३ विद्यालयमध्ये एक दर्जन प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाका अनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ । ती विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न नसकिने अवस्था छ ।

उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएका छन् भने एउटा ब्लकमात्र बाँकी छ । चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङ स्कुलको घेराबार क्षेत्रमा पनि क्षति पुगेको छ ।

रामचन्द्र आविको एउटा र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बससमेत बाढीले बगाएको छ ।

किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगे पनि बाढीबाट विस्थापितलाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ । बेलकोटगढीमा पनि एउटा विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।

बेलकोटगढी-७ स्थित शिलादेवी मावि बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं ५ स्थित महादेव मावि पनि प्रभावित बनेको छ । रासस

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update