- महाकालीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुग्यो ।
- बनबासा पुलबाट चारपाङ्ग्रे सवारी आवागमन रोकियो ।
- जलस्तर घटेपछि आवागमन सहज हुने प्रहरीको भनाइ ।
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल-भारत आवतजावत प्रभावित भएको छ ।
महाकाली नदीको जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी हुँदै भारत जाने र नेपाल आउने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज (बनबासा पुल) मा आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक पुगेको छ ।
“महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षाका कारण चारपाङ्ग्रे सवारी साधनलाई बनबासा पुलबाट आवतजावत गर्न भारतीय पक्षले दिँदैन”, उहाँले भन्नुभयो, “पहाडी जिल्लासँगै कञ्चनपुरमा पनि वर्षा भइरहेकाले पानीको बहाव अझ बढ्न सक्छ ।”
करिब एक सय वर्ष पुरानो बनबासा पुल जीर्ण रहेकाले वर्षातका बेला पानीको बहाव बढेपछि ठूला सवारी साधनलाई आवागमनमा रोक लगाउने गरिएको छ ।
“पानीको बहाव बढेर ठूला सवारी साधन रोकिए पनि मोटरसाइकल र पैदल यात्रामा रोकावट हुँदैन”, गुरुङले भन्नुभयो, “जलस्तर घटेपछि आवागमन सहज भइहाल्छ ।” रासस
