- नेप्से ४३.८९ अंक घटेर २५१३.४२ बिन्दुमा ।
- निर्जीवन बीमा, अन्य र जलविद्युत् समूहमा उच्च गिरावट ।
- उपकार लघुवित्त १३.१६ प्रतिशत बढ्दा मैलुङखोला १४.९८ प्रतिशत घट्यो ।
रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजार खुलेदेखि नै दिनभर रातो देखिएको बजारमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । चार कम्पनीको मूल्य स्थिर रहेको छ ।
गत बुधबार गएको भीषण बाढीपछि बजारमा तीन समूहमा देखिएको उच्च दबाब आज पनि कायमै रहेको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५.०३ प्रतिशतले घटेको छ । अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशतले घटेका छन् ।
बाढीपछि यी तीन समूह नै बजारमा उच्च दबाबमा छन् । बाढीका कारण एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएका छन् । त्यस्तै सवारीसाधन, घर तथा जलविद्युत् आयोजनाको बीमा दाबी भुक्तानी गर्नुपर्ने भएपछि निर्जीवन बीमा र अन्य समूह प्रभावित भएका हुन् । अन्य समूहमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि पर्छन् ।
आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.१६ प्रतिशतले बढेको छ । घोराही सिमेन्टको ७.५७, पाल्पा सिमेन्टको ४.०३ र एसवाई प्यानलको ३.९१ प्रतिशतले मूल्य बढेको छ ।
मैलुङखोला जलविद्युत्को सेयर मूल्य भने सबैभन्दा धेरै १४.९८ प्रतिशतले घटेको छ । रसुवागढी हाइड्रोपावरको ११.७६, चिलिमे हाइड्रोपावरको १०.४९ र माण्डु हाइड्रोपावरको ९.३० प्रतिशतले मूल्य घटेको छ ।
