- ८० वर्षीय वेदप्रकाशले तीन वर्षमा तीन सयभन्दा बढी पुस्तक पढ्नुभयो ।
- दीपशिखा पुस्तकालयमा १० हजारभन्दा बढी पुस्तक, एक हजारभन्दा बढी पाठक ।
- पुस्तकालयले थुनुवादेखि बालबालिकासम्मलाई पढ्ने अवसर उपलब्ध गराउँदै ।
बागमती । पठन संस्कृति हराउँदै गएको अवस्थामा हेटौँडा उपमहानगरपालिका-२, सानोपोखरा स्थायी घर भई पछिल्ला केही वर्षदेखि पोखरा बस्दै आउनुभएका ८० वर्षीय वेदप्रकाश शर्माले तीन वर्षमा तीन सयभन्दा बढी पुस्तक पढ्नुभएको छ ।
पोखरा महानगरपालिका-२९, भण्डारढिकस्थित दीपशिखा सामुदायिक पुस्तकालयले उहाँलाई पुस्तक अध्ययनको अवसर जुराएको हो ।
हाल एक हजारभन्दा बढी नियमित पाठक रहेको पुस्तकालय ज्येष्ठ नागरिकदेखि विद्यालय तथा क्याम्पसका विद्यार्थी र विभिन्न पेसा-व्यवसायमा आबद्ध व्यक्तिको पढ्ने गन्तव्य बनेको छ ।
शर्माको पुस्तक अध्ययनप्रतिको आकर्षण युवापुस्ताका लागि समेत प्रेरणादायी बनेको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले बताउनुभयो । उहाँजस्तै विभिन्न उमेर समूहका पाठक पुस्तकालयमा आउने गरेको र यसले समाजमा पठन संस्कृति बढाउने अभियानलाई प्रभावकारी बनाइरहेको उहाँले बताउनुभयो ।
पठन संस्कृतिको विकासलाई लक्षित गर्दै पुस्तकालयले इलाका प्रहरी कार्यालय, डाँडाको नाकमा विभिन्न कसुरको अनुसन्धानका क्रममा रहेका थुनुवालाई समेत पढ्ने व्यवस्था मिलाएको छ ।
“केही समयदेखि डाँडाको नाकस्थित इलाका प्रहरी कार्यालयमा त्यहाँका थुनुवाका लागि समेत पढ्न पुस्तक उपलब्ध गराउँदै आएका छौँ”, भण्डारीले भन्नुभयो, “हाम्रो यस प्रयासले थुनुवा-कैदीमा समेत सकारात्मक प्रभाव पारिरहेको पृष्ठपोषण प्राप्त भएको छ ।”
पुस्तकालयका नियमित अध्येता शर्माका अनुसार पढ्ने बानीले व्यक्तित्व विकाससँगै सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ । उहाँले पछिल्ला तीन वर्षमा दीपशिखा पुस्तकालयबाट तीन सयभन्दा बढी पुस्तक लगेर आद्योपान्त पढ्ने अवसर पाएको बताउनुभयो ।
यस अवधिमा पढेकामध्ये तोर्किनको ‘मुस्ताङे कसरी बोल्छन्’, प्रेमचन्दको ‘गवन’, अमृता प्रीतमको ‘ऐतिहासिक कहानीया’, सुधीर शर्माको ‘हिमाल पारिको हुरी’ र ‘भिक्षु, व्यापार, विद्रोह’, रमेश भुसालको ‘छाल बाटो (कैलाशदेखि गङ्गासम्म)’, गोविन्द्रप्रसाद कुसुमको ‘भृकुटी’ र मोहन मैनालीको ‘मुकाम रण मैदान’ आफूलाई मनपरेका पुस्तक रहेको उहाँले बताउनुभयो ।
दीपशिखा पुस्तकालयमा हिन्दी भाषाका लेखक तथा साहित्यका पुस्तक थप गर्नुपर्ने उहाँको सुझाव छ ।
शर्माले यसअघि पनि विभिन्न सेवा, पेसा र व्यवसायमा रहँदा पुस्तकालयको उपयोग गर्दै आएको बताउनुभयो । विसं २०२६/२७ तिर हेटौँडाको मेनरोडमा रहेको जन पुस्तकालय तथा भुटनदेवी हाइस्कुल नजिकै रहेको हाम्रो पुस्तकालयमा आफूले धेरै पुस्तक पढेको उहाँले स्मरण गर्नुभयो ।
पछिल्ला पुस्तामा पुस्तक पढ्नुभन्दा मोबाइल हेर्ने मोह बढिरहेको भन्दै उहाँले मोबाइलको मोह कम गर्दै पुस्तक पढ्ने बानीको विकास गराउनुपर्ने बताउनुभयो ।
दीपशिखा पुस्तकालयले नियमित पाठकलाई हरेक १५ दिनमा दुई-दुई वटा पुस्तक घरमा लगेर पढ्न सक्ने व्यवस्था मिलाएको कर्मचारी माया गुरुङले बताउनुभयो । धेरै पुस्तक छोटो समयमा पढ्ने भएकाले ८० वर्षीय शर्मालाई भने हरेक १५ दिनमा चार-चार वटा पुस्तक दिने गरिएको उहाँले जानकारी दिनुभयो ।
समुदायको सक्रियतामा विसं २०५८ मा वाचनालयका रूपमा स्थापना भई पछि पुस्तकालयका रूपमा विकास गरिएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले बताउनुभयो । पुस्तकालयमा विभिन्न कक्ष तयार गरिएको र ती कक्षमा दिनानुदिन विद्यार्थी तथा पाठक आउने गरेको उहाँले जानकारी दिनुभयो ।
पुस्तकालयको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने वातावरण बनाउन खेलौनालगायत सामग्री राखिएका छन् । पुस्तकालयले समय-समयमा कथा, चित्रकला, खेलकुद र हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ ।
हरेक वर्ष भानु जयन्ती, पुस्तकालय दिवसजस्ता अवसरमा विद्यालयस्तरीय रामायण वाचन, निबन्ध लेखनलगायत प्रतियोगिता सञ्चालन गर्दै आएको लाइब्रेरियन धनु पहारीले जानकारी दिनुभयो ।
पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका १० हजारभन्दा बढी पुस्तक छन् भने एक हजारभन्दा बढी पाठक रहेका छन् । हरेक दिन ५० भन्दा बढी पाठकले नियमित अध्ययन गर्ने गरेको पुस्तकालयले जनाएको छ ।
अध्यक्ष भण्डारीका अनुसार पुस्तकालयमा विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक तथा राष्ट्रिय र स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिका उपलब्ध छन् ।
पुस्तकालय विसं २०७९ मा देशकै नमूना सामुदायिक पुस्तकालयका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित भएको थियो । पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि रु १८ लाखको अक्षयकोष स्थापना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
त्यस क्षेत्रको पठन संस्कृतिको विकासमा पुस्तकालयले योगदान पुर्याएको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं पुस्तकालयका सदस्य विष्णुहरि पौडेलले बताउनुभयो । रासस
