बेइजिङ । नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता भएपछि कैलाश क्षेत्रको तीर्थयात्रा प्रभावित भएको हो ।
दक्षिणपश्चिमी तिब्बतमा चीन-नेपाल र भारतको सीमाना नजिकै रहेको कैलाश पर्वत समुद्र सतहबाट छ हजार ४०० मिटरभन्दा बढी उचाइमा छ । मानसरोवर ताल नजिक रहेको यो पर्वत हिन्दू, बौद्ध, जैन तथा तिब्बती बोन परम्पराका अनुयायीका लागि पवित्र मानिन्छ । हिन्दू धर्ममा कैलाशलाई भगवान् शिव र देवी पार्वतीको निवास तथा बोन परम्परामा आध्यात्मिक शक्तिको केन्द्र मान्ने धार्मिक विश्वास छ ।
तीर्थयात्रीहरू सामान्यतः कैलाश पर्वत आरोहण नगरी करिब ५३ किलोमिटर परिक्रमा गर्ने गर्छन् । यो यात्रा पूरा गर्न करिब तीन दिन लाग्न सक्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीले घडीको दिशामा र बोन अनुयायीले विपरीत दिशामा पर्वतको परिक्रमा गर्ने परम्परा छ । मानसरोवरमा केही हिन्दू तीर्थयात्रीले धार्मिक शुद्धिका लागि स्नान गर्ने तथा मार्गमा रहेका मठ र पवित्र स्थलमा पूजा-प्रार्थना गर्ने गर्छन् ।
भारत सरकारले हरेक वर्ष जुनदेखि अगस्ट वा सेप्टेम्बरसम्म उत्तराखण्ड र सिक्किम हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्छ । निजी सञ्चालकले नेपाल हुँदै पनि तीर्थयात्रा आयोजना गर्ने गरेका छन् ।
यसपटकको विपद्मा भारतका कम्तीमा १७८ जना बेपत्ता रहेको र तीमध्ये अधिकांश कैलाश तीर्थयात्रामा गएको विश्वास गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडाका नागरिकसमेत बेपत्ता भएको बताइएको छ ।
भारतीय आध्यात्मिक गुरु जग्गी वासुदेव (सद्गुरु) ले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो ईशा फाउन्डेसनले आयोजना गरेको समूहका ७७ जना तीर्थयात्री बाढी आउँदा तिब्बतको ग्यिरोङस्थित अध्यागमन केन्द्रमा रहेको बताउनुभएको छ । उहाँका अनुसार ती तीर्थयात्री कैलाश क्षेत्रबाट फर्किरहेका थिए । एपी
