RayNewsDaily
केरोङ (Gyirong) मा गएको बाढी-पहिरो: उद्धार तथा राहतबारे राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व बैठक
चीनका राष्ट्रपति सी चिनफिङ फायल फोटो

पैचिङ । चीनको दक्षिणपश्चिमी स्वायत्त क्षेत्र तिब्बतको केरोङ (Gyirong) काउन्टीमा गएको भीषण बाढी-पहिरोपछि उद्धार तथा राहत कार्यका सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय नेतृत्व बैठक बसेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार पैचिङमा बसेको पार्टी नेतृत्व बैठकले पहिरो प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनर्स्थापनाका कामबारे छलफल गर्दै आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

चीनले केरोङमा भएको विपद्बाट प्रभावित नेपालका क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने, विपद् उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य अघि बढाउने

बैठकको सुरुवातमा राष्ट्रपति सी चिनफिङसहित सहभागी नेताहरूले बुधबार केरोङको सीमा नाकामा गएको भीषण पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए।

बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बलियो नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढिरहेको जनाएको छ। प्रभावित नागरिकहरूको सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापना र विपद्पछिका आवश्यक व्यवस्थापनका कामसमेत व्यापक रूपमा भइरहेको बैठकमा जानकारी दिइएको छ।

विपद् अत्यन्त चिसो हिमाली क्षेत्रमा भएको र त्यहाँ गहिरा तथा भिराला खोँच, छिटो–छिटो परिवर्तन हुने मौसम, आसपासमा रहेका धेरै हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बैठकले जनाएको छ।

बैठकले सम्बन्धित सबै निकाय तथा विभागलाई उद्धारसम्बन्धी काममा दृढ र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। वैज्ञानिक तथा व्यवस्थित ढंगले खोज तथा उद्धार योजना बनाउनुपर्नेमा जोड दिँदै हराइरहेका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्न बैठकले निर्देशन दिएको छ।

यसैबीच, चीनले केरोङमा भएको विपद्बाट प्रभावित नेपालका क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने जनाएको छ। साथै, विपद् उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य अघि बढाउने पनि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व बैठकले जनाएको छ।

केरोङ चीन-नेपाल सीमास्थित महत्वपूर्ण नाका हो। बुधबार गएको भीषण पहिरोका कारण यस क्षेत्रमा ठूलो क्षति भएको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको छ। (सिन्ह्वा) 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update