RayNewsDaily
रसुवा बाढीको प्रभाव शेयर बजारमा, नेप्सेमा लगातार चौथो दिन गिरावट
  • रसुवा बाढीको प्रभाव शेयर बजारमा ।
  • नेप्से १.०४ अंकले घट्यो ।
  • कारोबार ३ अर्ब ७८ करोडमा सीमित ।

रे समाचार/काठमाडौँ । रसुवामा आएको भीषण बाढीको प्रभाव शेयर बजारमा पनि परेको छ । विशेषगरी जलविद्युत् र निर्जीवन बीमा समूहका शेयरमा बिक्री चाप देखिँदा नेप्से परिसूचक लगातार चौथो कारोबार दिन घटेको छ ।

बिहीबार नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेको समाचार सार्वजनिक भएपछि सम्बन्धित कम्पनीको शेयरमा दबाब देखिएको छ । त्यस्तै, बाढीबाट जलविद्युत् आयोजना, सवारीसाधन तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले निर्जीवन बीमा कम्पनीमा सम्भावित दाबीको भार बढ्ने आशंकाले यस समूहमा पनि नकारात्मक प्रभाव परेको देखिएको छ ।

सर्वोत्तम पेन्ट्सको शेयर लगातार ११औँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य १८१ रुपैयाँ ९० पैसा बढेर १ हजार ३९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ । घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी र सोनापुर मिनरल्स एन्ड आयलको ५ प्रतिशतभन्दा बढी बढेको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ९.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढी र चिलिमे हाइड्रोपावर कम्पनीको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये आज आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update