RayNewsDaily
पोल्ट्री व्यवसाय अझै जोखिमा

काठमाण्डू । नेपालका गाउँघरमा बिहानको सुरुवात प्रायः कुखुराको भाले बासेको आवाजसँगै हुन्छ । कुखुरापालन हजारौँ परिवारको आयआर्जनको मुख्य आधार बनेको छ । घरखर्च धान्नेदेखि छोराछोरीको शिक्षा, रोजगारी सिर्जना र वैदेशिक रोजगारीबाट फर्किएका युवाको उद्यमशीलताको माध्यमसमेत यही व्यवसाय बनेको छ तर पछिल्ला वर्षमा कुखुरापालन अर्थात् पोल्ट्री क्षेत्र अनेक चुनौतीले घेरिँदा किसानहरू सडकमा उत्रिन बाध्य भएका छन् । 

पोल्ट्रीविज्ञ डा. सुदीप हुमागाईंका अनुसार पोल्ट्री क्षेत्र करिब दुई खर्ब रुपियाँ बराबरको उद्योग हो । कुल गार्हस्थ उत्पादनमा यसको योगदान २.९ प्रतिशत रहेको छ । यस क्षेत्रमा ५६ हजारभन्दा बढी परिवार आबद्ध छन् भने करिब तीन लाख २६ हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । यति ठुलो आर्थिक महìव बोकेको क्षेत्र अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबाबबाट गुज्रिरहेको छ । 

पोल्ट्रीविज्ञ डा. दिनेश गौतमले नेपालीले वार्षिक औसत ११ केजी कुखुराको मासु र ६१ वटा अन्डा उपभोग गर्ने बताउनुभयो । अन्डा उत्पादनमा नेपाल विश्वको ९२ औँ स्थानमा र कुखुराको मासु उत्पादनमा १२ औँ स्थानमा रहेको छ । उत्पादन बढे पनि किसानको अवस्था भने अपेक्षा अनुसार सुधार हुन सकेको छैन । 

किसानहरूको गुनासो केवल मूल्यको विषयमा सीमित छैन । उनीहरूको चिन्ता गुणस्तरीय चल्ला र दानाको उपलब्धतासँग पनि जोडिएको छ । कतिपय ह्याचरी उद्योगले तोकिएको मूल्यभन्दा महँगोमा चल्ला बिक्री  गर्ने गरेको र खरिद गरिएका चल्लामा अपेक्षित गुणस्तर नपाइने समस्या किसानले उठाएका छन् । 

कमजोर रोग प्रतिरोधात्मक क्षमता, उच्च मृत्युदर र उत्पादनमा कमीका कारण किसानले थप आर्थिक भार बेहोर्नु परेको छ । त्यसैले चल्लाको मूल्य र गुणस्तरमाथि नियमित सरकारी अनुगमन तथा प्रमाणीकरण प्रणाली बलियो बनाउनुपर्ने माग उनीहरूको छ । 

दानाको गुणस्तर पनि अर्को ठुलो चिन्ताको विषय बनेको छ । पोल्ट्री व्यवसायको कुल लागतको अधिकांश हिस्सा दानामा खर्च हुने भए पनि गुणस्तरमा एकरूपता नहुँदा किसानले अपेक्षित उत्पादन प्राप्त गर्न सकेका छैनन् । 

एउटै ब्रान्डको दानाले फरक फरक नतिजा दिने गरेको गुनासो बढ्दो छ । किसानहरू दाना उद्योगको प्रभावकारी नियमन र गुनासो सुनुवाइको संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । 

यतिबेला किसानहरूको सबैभन्दा ठुलो चिन्ता भारतबाट हुने अवैध कुखुरा तथा चल्लाको तस्करी हो । खुला सीमाको फाइदा उठाउँदै विभिन्न नाकाबाट अवैध रूपमा भित्रिने कुखुरा र मासुले नेपाली किसानलाई अस्वस्थ प्रतिस्पर्धामा धकेलेको छ । 

ब्रोइलर कुखुरापालक सङ्घका केन्द्रीय सचिव नातिकाजी कार्कीका अनुसार तरकारी बोकेका फ्रोजन गाडीमार्फत समेत बोनलेस कुखुराको मासु अवैध रूपमा भित्रिने गरेको छ । यसले स्वदेशी उत्पादनको बजार सङ्कुचित बनाउनुका साथै रोग भित्रिने जोखिमसमेत बढाएको छ । 

उत्पादन बढी भएको बेला मूल्य एकाएक घट्ने समस्या पनि किसानले बर्सौंदेखि भोग्दै आएका छन् । लागतभन्दा कम मूल्यमा कुखुरा बिक्री गर्नुपर्ने बाध्यताले धेरै किसान घाटामा परेका छन् ।

किसानले सातै प्रदेशमा कुखुरा भण्डारण केन्द्र स्थापना गरी बजार व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् । 

किसानको विश्वास छ, यसले मूल्यको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सहयोग पु-याउने छ । डिजिटल युगमा समेत किसानले दैनिक बजार मूल्यको भरपर्दो सूचना पाउन नसक्नु अर्को समस्या हो । पारदर्शी मूल्य सूचना प्रणालीको अभावले बिचौलियामाथिको निर्भरता कायम छ । 

मोबाइल वा डिजिटल माध्यमबाट सहज रूपमा बजार मूल्य उपलब्ध गराउन सके किसानलाई उत्पादन र बिक्रीको योजना बनाउन सजिलो हुने उनीहरूको भनाइ छ । बर्डफ्लुलगायत रोगको जोखिमले पनि पोल्ट्री क्षेत्रलाई बारम्बार प्रभावित बनाउँदै आएको छ । रोगको समयमै पहिचान र नियन्त्रण हुन नसक्दा किसानले ठुलो क्षति बेहोर्नु परेको छ । त्यसैले आधुनिक प्रयोगशाला विस्तार, प्राविधिक सेवा सुदृढीकरण र वैज्ञानिक परामर्शको पहुँच बढाउन किसानले सरकारसँग माग गरेका छन् । 

किसानहरूका अनुसार समस्या धेरै छन् तर तिनको सुनुवाइ गर्ने प्रभावकारी थलो छैन । यही कारण उनीहरूले पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि छुट्टै संयन्त्र वा आयोग गठन गर्न माग गरेका छन् । गोरखापत्र अनलाईन

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update