RayNewsDaily
उपत्यकाको फोहर व्यवस्थापनमा पालिकाहरूको स्पष्ट योजना बनाउने प्रतिबद्धता
  • सबै पालिकाले आफ्नो फोहर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता 
  • बञ्चरेडाँडामाथिको निर्भरता घटाउँदै दीर्घकालीन समाधान खोजिने 
  • फोहर वर्गीकरण, पुनःप्रयोग र पुनर्चक्रणमा जोड दिने 

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी अघि बढ्ने सहमति भएको छ । शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा भएको उच्चस्तरीय छलफलमा सबै पालिकाले आफ्नो फोहर आफैँ व्यवस्थापन गर्ने गरी स्पष्ट कार्ययोजना बनाउने प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटको अवस्था, प्रभावित स्थानीयवासीका समस्या, फोहर व्यवस्थापनका विद्यमान चुनौती र दीर्घकालीन समाधानका उपायबारे छलफल भएको थियो । फोहर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भए पनि दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले बञ्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहरमैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रत्येक पालिकाले आफ्नो फोहर आफैँ व्यवस्थापन गर्ने दिशामा अघि बढ्नुपर्ने र सङ्घीय सरकारले आवश्यक सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

फोहर व्यवस्थापनका लागि आवश्यक जग्गा प्राप्तिको समस्या चाँडो टुङ्ग्याउने तथा आवश्यक परे कानुनी व्यवस्था संशोधन गर्न पहल गर्ने उहाँले बताउनुभयो । लामो समयदेखि मुद्दामामिलामा रहेको नेपवेस्टसँग सम्बन्धित विषयको समेत समाधान खोजिने उहाँको भनाइ थियो ।

छलफलमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहरको समस्या समाधानका लागि स्रोतमा नै व्यवस्थापनको उपाय खोज्नुपर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपवेस्टसँगको सम्झौता कायम रहेकाले महानगरपालिकाले आफैँ फोहर व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले मुद्दामामिला र अदालतका आदेशका कारण फोहर व्यवस्थापनको काम अघि बढाउन नसकिएको बताउनुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले फोहर व्यवस्थापनका लागि एकीकृत योजना र दीर्घकालीन संयन्त्र आवश्यक रहेको धारणा राख्नुभयो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले आगामी छ महिनाभित्र आफ्नै फोहर आफैँ व्यवस्थापन गर्ने योजना कार्यान्वयनमा ल्याउने बताउनुभयो । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले पछिल्लो तीन महिनादेखि फोहर वर्गीकरण सुरु गरेपछि फोहरको मात्रा घटेको जानकारी दिनुभयो ।

छलफलमा बञ्चरेडाँडा क्षेत्रमा एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरिएको जानकारी दिइएको थियो । बञ्चरेडाँडा जाने २१ पालिकाको फोहरमध्ये काठमाडौँ महानगरपालिकाको हिस्सा ४८.८ प्रतिशत, ललितपुर महानगरपालिकाको १० प्रतिशत र बूढानीलकण्ठ नगरपालिकाको पाँच प्रतिशत रहेको जनाइएको छ ।

फोहर व्यवस्थापनलाई विकेन्द्रित बनाउने, सुक्खा फोहर पुनःप्रयोग तथा पुनर्चक्रणका लागि पालिकामै प्रविधि स्थापना गर्ने, कुहिने फोहरबाट प्राङ्गारिक मल तथा ऊर्जा उत्पादन गर्ने र बञ्चरेडाँडामा रिसोर्स रिकभरी प्रविधि स्थापना गर्ने प्रस्तावसमेत छलफलमा अघि सारिएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण ५३९ हेक्टर क्षेत्रका ८७५ घरपरिवार प्रत्यक्ष प्रभावित भएको जानकारी दिइएको थियो । प्रभावित स्थानीयवासीले फोहरमैला विकास प्राधिकरण गठन गर्न तथा विगतका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

छलफलमा अबको चार वर्षभित्र बञ्चरेडाँडामा उपत्यकाको फोहर लैजान नपर्ने गरी कार्ययोजना बनाउनुपर्ने विषयमा समेत जोड दिइएको थियो । त्यसका लागि फोहर उत्पादन घटाउने, स्रोतमै वर्गीकरण गर्ने, पुनःप्रयोग तथा पुनर्चक्रण बढाउने र चक्रीय अर्थतन्त्रको अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update