- नेप्से ५.३० अंक घट्यो ।
- कारोबार रकम ४ अर्ब १० करोड पुग्यो ।
- हाइड्रोपावरमा सर्वाधिक कारोबार ।
रे समाचार/काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ५.३० अंक घटेर २,५९४.२७ विन्दुमा कायम भएको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ ।
हिजो ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
समूहगत कारोबारमा आज हाइड्रोपावर समूहको हिस्सा सबैभन्दा धेरै रहेको छ । सो समूहमा मात्रै २ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन कुल कारोबारको ६०.६६ प्रतिशत हो । यस्तै, वाणिज्य बैंक समूहमा ३२ करोड तथा उत्पादन तथा प्रशोधन समूहमा ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्सको शेयर मूल्य आज १४.९९ प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स १४.९५, नाडेप लघुवित्त ६, एभरेस्ट कलर ५.७१ तथा कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ५.५६ प्रतिशतले बढेको छ ।
धौलागिरि लघुवित्तको शेयर मूल्य भने सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ ।
रकमका आधारमा धेरै कारोबार हुने कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी र चन्द्रागिरि हिल्स रहेका छन् ।
