जकार्ता । चीनका विदेशमन्त्री वाङ यीले चीन र इन्डोनेसियाबीच बढ्दो मित्रता तथा सहकार्यले दुवै देशको विकासमा योगदान पुर्याउनुका साथै विश्व दक्षिण (Global South) का मुलुकहरूबीच पारस्परिक लाभमा आधारित सहकार्यको उदाहरण प्रस्तुत गरेको वताउनु भएको छ ।
शनिबार इन्डोनेसियाको राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष लुहुत बिन्सार पान्डजैतानसँगको भेटमा वाङले सो धारणा व्यक्त गर्नुभएको हो ।
वाङका अनुसार चीनले इन्डोनेसियालाई आफ्नो विकास तीव्र बनाउन इमानदारीपूर्वक सहयोग गरिरहेको छ। चीनले आफ्ना कम्पनीहरूलाई इन्डोनेसियामा लगानी गर्न तथा व्यवसाय विस्तार गर्न प्रोत्साहन र समर्थन गरिरहेको पनि उहाँले बताउनु भयो । यसबाट इन्डोनेसियाले आफ्ना प्राकृतिक स्रोत–साधनलाई आर्थिक विकास र जनताको जीवनस्तर सुधारको माध्यममा रूपान्तरण गर्न तथा औद्योगिकीकरणलाई तीव्र बनाउन सहयोग पुग्ने चीनको विश्वास छ।
यसका लागि इन्डोनेसिया सरकारले चिनियाँ कम्पनीहरूका लागि सुरक्षित, स्थिर र राम्रो व्यावसायिक वातावरण सुनिश्चित गर्ने अपेक्षा चीनले गरेको वाङले बताउनु भयो ।
इन्डोनेसियाको राष्ट्रिय आर्थिक परिषद्का अध्यक्ष लुहुतले चीन–इन्डोनेसिया सम्बन्ध आपसी सम्मान, विश्वास र गहिरो मित्रतामा आधारित रहेको बताउनु भयो । विशेषगरी चिनियाँ कम्पनीहरूले इन्डोनेसियामा गरेको लगानीले देशको आर्थिक विकास तथा जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाई थियो ।
इन्डोनेसियाले चीनलाई आफ्नो सबैभन्दा विश्वासिलो मित्र र साझेदार का रूपमा हेर्ने उहाँले बताउनु भयो । साथै, चिनियाँ कम्पनीहरूलाई इन्डोनेसियामा लगानी तथा व्यवसाय गर्न सधैँ स्वागत गरिने र उनीहरूका लागि न्यायपूर्ण तथा मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चीनले इन्डोनेसियामा स्रोत–साधनमा आधारित औद्योगिकीकरण र चिनियाँ लगानीमार्फत आर्थिक सहकार्य विस्तार गर्न खोजिरहेको छ भने इन्डोनेसियाले चीनलाई आफ्नो प्रमुख र विश्वासिलो आर्थिक साझेदारका रूपमा स्वीकार गरिरहेको देखिन्छ। सिन्ह्वा
