त्रिपोली । पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोट हुँदा भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीले जनाएका छन् ।
यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल-सिक्त क्षेत्रमा रहेको जनाइएको छ । गोलाबारुद भण्डारभित्र लगातार विस्फोट जारी रहेको स्थानीय मिडियाले जनाएका छन् भने अधिकारीहरूले नजिकैका सडक सञ्जाल बन्द गरेर थप जोखिम विरुद्ध सावधानीका तथा सुरक्षाका उपाय अबलम्वन गरिरहेको जनाएको छन् ।
लिबिया सरकारका कार्यवाहक आन्तरिक मन्त्रीले अल-सिक्त क्षेत्रको गोला बारुद र हतियार भण्डारणमा भएको विस्फोटबारे निर्देशन जारी गरेको सुरक्षा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विस्फोट स्थल र वरपरका क्षेत्रको सर्वेक्षण गर्न र विस्फोटका अवशेष सङ्कलन गर्न सुरक्षा टोली पठाइएको विज्ञप्तिमा जनाइएको छ । विस्फोटको कारण वा क्षति बारेमा आजसम्म कुनै पनि आधिकारिक जानकारी उपलब्ध हुन नसकेको जनाइएको छ ।रासस/सिन्ह्वा
