RayNewsDaily
जुम्लाको सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर-जी सेवा सुरु
  • हाट सिञ्जासहित विभिन्न क्षेत्रमा सेवा विस्तार 
  • नयाँ टावरबाट पाँच वडामा फोर-जी पहुँच 
  • सोलार प्रणालीबाट टावर सञ्चालन 

काठमाडौँ । नेपाली भाषा (खस भाषा) को उद्गमस्थल जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी आजदेखि सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर-जी सेवा उपलब्ध हुनेछ ।

टावरबाट गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायत क्षेत्रमा सेवा पुग्नेछ ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण टावर सञ्चालनमा ढिलाइ भएपछि तत्कालका लागि सोलार ब्याट्रीमार्फत सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि विद्युत् जडान हुन नसकेपछि सोलार प्रणालीबाट सेवा सुरु गरिएको हो ।

सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा यसै हप्ताभित्र फोर-जी सेवा सञ्चालनमा ल्याउने तयारी छ भने सगरमाथा आधार शिविर क्षेत्रमा सेवा विस्तारका लागि अध्ययन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका-१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार ९०० मिटर उचाइमा फोर-जी सेवा सञ्चालनमा आइसकेको छ । ताप्लेजुङको ओलाङचुङगोलामा पनि करिब तीन हजार ४०० मिटर उचाइमा फोर-जी सेवा सुरु भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update