RayNewsDaily
शेयर बजारमा वृद्धि, नेप्से ७.१७ अंकले बढ्यो
  • चार कारोबार दिनपछि नेप्सेमा सुधार ।
  • कारोबार रकम बढेर रु. ४ अर्ब ४० करोड पुग्यो ।
  • पाँच उपसमूहको परिसूचक बढ्दा सात उपसमूह घटे ।

रे समाचार/काठमाडौं । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने ७.१७ अंकले बढेर २६२९.४९ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेर रु. ४ अर्ब ४० करोड १४ लाख ९ हजार बराबर पुगेको छ ।

हिजो रु. ३ अर्ब २९ करोड बराबरको शेयर खरिदबिक्री भएकामा आज कारोबार रकम बढेको हो ।

आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माउन्ट एभरेस्ट पावरको शेयर मूल्य लगातार सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने सर्वोत्तम पेन्ट्सको शेयर लगातार छैटौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यसैगरी, एनआईसी एसिया सेलेक्ट फन्डको इकाइमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । कुमारी धनवृद्धि योजनाको इकाइमूल्य भने आज सर्वाधिक ९.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नौ वर्षे एग्रिकल्चर बन्ड शीर्ष स्थानमा रहेको छ। उक्त बन्डको रु. ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम रु. ३० करोड नाघेको छ भने सोलु हाइड्रोपावरको करिब रु. २३ करोड बराबरको शेयर किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update