RayNewsDaily
सरकारी सुधारको नतिजा : नेपाल टेलिकमको नाफा ४ अर्बभन्दा बढी
  • चौथो त्रैमासमा टेलिकमको नाफा रु चार अर्ब २० करोड पुग्यो ।
  • वार्षिक खुद मुनाफा ४७.५८ प्रतिशतले बढेर रु आठ अर्ब ८६ करोड पुग्यो ।
  • डाटा खपत बढ्दा आम्दानी वृद्धि, सञ्चालन खर्च र अनावश्यक खर्चमा कटौती ।

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा रु चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु एक अर्ब २२ करोड ४८ लाख नाफाको तुलनामा यो करिब रु तीन अर्ब बढी हो ।

टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म रु तीन अर्ब १४ करोड ८० लाख नाफा गरेको कम्पनीले चौथो त्रैमासमा मात्रै रु एक अर्ब पाँच करोड ४४ लाखले नाफा बढाएको हो । यो करअघिको मुनाफा हो ।

सरकारले टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम थालेपछि वित्तीय अवस्थामा समेत सकारात्मक प्रभाव देखिएको कम्पनीले जनाएको छ । विशेषगरी ‘फाइबर टु द होम’ (एफटिटिएच) र जिएसएम डाटाको खपत बढ्दा आम्दानी वृद्धि भएको हो ।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय भ्वाइस सेवाको तुलनामा डाटा खपत बढेको छ । आम्दानी बढ्नुका साथै सञ्चालन खर्च घटेकाले समग्र नाफा बढेको उहाँले बताउनुभयो ।

टेलिकमले विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट मात्रै गत आर्थिक वर्षमा रु १० करोडदेखि १५ करोडसम्म बचत गरेको जनाएको छ । सेवा सञ्चालन तथा मर्मतसम्भार खर्च र नियामकलाई तिर्नुपर्ने रकमसमेत अघिल्ला वर्षको तुलनामा घटेको कम्पनीको तथ्याङ्कमा उल्लेख छ ।

वार्षिक खुद मुनाफा रु आठ अर्ब ८६ करोड

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म टेलिकमको खुद मुनाफा रु आठ अर्ब ८६ करोड ४६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको रु छ अर्ब ६७ लाखको तुलनामा खुद मुनाफा रु दुई अर्ब ८५ करोड ७९ लाख अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढेको हो ।

त्यस्तै, करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको रु नौ अर्ब ८५ करोड दुई लाखको तुलनामा यो रु तीन अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढी हो ।

ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड एक लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको रु १८ अर्ब ४९ करोड ६० लाखको तुलनामा यो रु एक अर्ब ९८ करोड ४१ लाख अर्थात् १० दशमलव ७३ प्रतिशतले बढी हो ।

कम्पनीको कुल सञ्चालन आय पनि बढेर रु ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको रु ३३ अर्ब ८९ करोड ४५ लाखको तुलनामा सञ्चालन आय रु एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो ।

कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो । कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी रु ४९ दशमलव २५ रहेको छ ।

ब्याज आम्दानी घटे पनि नाफा बढ्यो

समीक्षा अवधिमा ब्याजदर घटेका कारण टेलिकमको ब्याज आम्दानी रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ । तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढ्दा सञ्चालन आय र मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

विशेषगरी जिएसएम सेवातर्फको राजस्व रु ६४ करोड ५४ लाख अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ । डाटा सेवाको प्रयोग बढ्नुले टेलिकमको आम्दानी वृद्धिमा योगदान गरेको कम्पनीको भनाइ छ ।

सेवा सुधारमा डिजिटल रूपान्तरण

सरकारले नेपाल टेलिकमको सेवा र व्यवस्थापन सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका काम अघि बढाएको जनाएको छ । प्रयोगकर्ताको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य, सेवा अनलाइन विस्तार र ‘वान टाइम केवाइसी’ कार्यान्वयन त्यसका प्रमुख उदाहरण हुन् ।

‘पे-एज-यू-गोज’ प्रणाली लागू भएपछि ग्राहकले डाटा सकिएपछि शुल्क कटाउने वा नयाँ प्याकेज खरिद गर्ने विकल्प रोज्न सक्ने व्यवस्था गरिएको छ ।

ई-सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवा अनलाइनबाट उपलब्ध हुन थालेका छन् । ग्राहकलाई सहज सेवा दिन टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएको छ ।

४जी सेवाको पहुँच र गुणस्तर सुधारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउनेलगायतका नीतिगत पहल पनि अघि बढाइएको छ । यी सुधारसँगै डाटा प्रयोग, सेवा आम्दानी र खर्च व्यवस्थापनमा आएको परिवर्तनले टेलिकमको वित्तीय नतिजामा सकारात्मक प्रभाव देखाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update