- नेप्से २.२५ अंक घटेर २६४१.५८ विन्दुमा बन्द ।
- कारोबार रकम बढेर ५ अर्ब ५२ करोड रुपैयाँ पुग्यो ।
- सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरमा सकारात्मक सर्किट ।
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से २.२५ अंक घटेर २६४१.५८ विन्दुमा झरेको हो ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको शेयरमूल्य ५० रुपैयाँ ५० पैसा बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने माउन्ट एभरेष्ट पावरको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा पुगेको छ ।
यसैगरी, रिलायन्स स्पिनिङ मिल्स र सगरमाथा जलविद्युत् कम्पनीको शेयरमूल्य ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ६.६३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको करिब साढे ३८ करोड र रिडी पावर कम्पनीको करिब साढे १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ वटा उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।
