RayNewsDaily
हङ्गेरीमा यात्रुबाहक बस दुर्घटना, १२ जनाको मृत्यु
  • बस दुर्घटनामा १२ जनाको मृत्यु ।
  • १० जनासहित अन्य यात्रु गम्भीर घाइते ।
  • चालक निदाएका कारण दुर्घटना भएको आशंका ।

बुडापेस्ट । हङ्गेरीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १० जनासहित अन्य यात्रु घाइते भएका छन् । प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

पोल्याण्डको नम्बर प्लेट भएको बस आइतबार बिहान हङ्गेरीको एम-३ राजमार्गमा पूर्वतर्फ गइरहेका बेला मेजोकरेसतेस सहरनजिकै सडकबाट तल खसेर खाल्डोमा पल्टिएको हो । दुर्घटनास्थल राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ ।

hungeriko-1786874586.png
प्रहरीका अनुसार चालक निदाएका कारण बस अनियन्त्रित भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

पोल्याण्डका विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले दुर्घटनामा पोल्याण्डका पर्यटक सवार बस परेको जानकारी दिँदै हङ्गेरीका अधिकारीसँग आफ्नो मन्त्रालय सम्पर्कमा रहेको बताउनुभएको छ । पोल्याण्डका राष्ट्रपति कारोले नाभ्रोस्कीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

हङ्गेरीका प्रधानमन्त्री पेतर म्याग्यारले दुर्घटनामा कम्तीमा १० जना गम्भीर घाइते भएको बताउँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घटनास्थलमा खटिएका उद्धारकर्मीलाई धन्यवाद दिनुभएको छ । एपी

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update