- पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण ।
- त्रिविको कार्यविधिबाटै तत्काल काम सञ्चालन ।
- नयाँ कार्यविधि स्वीकृतिको चरणमा ।
काठमाडौँ । विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै विश्वविद्यालय अनुदान आयोगले प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरिसकेको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले साउन २५ गतेदेखि काम थालेको हो । आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले साउन २२ गते पदबहाली गरेपछि समकक्षता निर्धारणसम्बन्धी निर्णय सुरु गरिएको जानकारी दिनुभयो ।
हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधिअनुसार काम भइरहेको छ । आयोगको नयाँ कार्यविधि भने स्वीकृतिको चरणमा रहेको अध्यक्ष केसीले बताउनुभयो । विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर काम गरिरहेको छ ।
आयोगले साउन १ गतेदेखि समकक्षताका लागि अनलाइन आवेदन खुला गरेको थियो । प्रस्तावित नयाँ कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठन गर्ने व्यवस्था गरिएको छ । आयोगका रिक्त सदस्य पदमा नियुक्ति भएपछि नयाँ कार्यविधिले पूर्णता पाउने जनाइएको छ ।
सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्रदान गरिने उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार आयोगलाई दिएको हो ।
संशोधित कानुनले आयोगलाई क्रेडिट ट्रान्सफर तथा विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) सम्बन्धी काम गर्ने अधिकारसमेत दिएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट जारी भएका समकक्षता प्रमाणपत्र भने नयाँ व्यवस्थाका कारण पुनः समकक्षता गराउनुपर्ने छैन । रासस
