RayNewsDaily
अन्तिम समयमा सामान्य बढ्यो नेप्से, कारोबार भने घट्यो
  • नेप्से ०.५५ अंक बढेर २६४२.४० विन्दुमा ।
  • कारोबार रकम घटेर ३ अर्ब ५३ करोडमा सीमित ।
  • माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट ।

रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज अन्तिम समयमा सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से अन्तिम समयमा झिनो अंकले सकारात्मक बनेर बन्द भएको हो ।

नेप्से परिसूचक आज ०.५५ अंक बढेर २६४२.४० विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ बढेर ३४५ रुपैयाँमा अन्तिम कारोबार भएको हो । उक्त कम्पनीको शेयर हिजो नेप्सेमा सूचीकृत भई आजदेखि नियमित कारोबारमा आएको हो ।

यसैगरी, इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँको शेयर किनबेच हुँदा सोलु हाइड्रोपावरको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ ।

आज १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update