- नेप्से ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुग्यो ।
- कारोबार रकम बढेर रु ४ अर्ब ११ करोड नाघ्यो ।
- अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा ।
रे समाचार/काठमाडौँ । लगातार तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको हो ।
नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ । हिजो रु ३ अर्ब ६७ करोड बराबरको शेयर कारोबार भएकोमा आज रु ४ अर्ब ११ करोड ९ लाख ७४ हजार बराबरको कारोबार भएको छ ।
आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रु ५६ रुपैयाँ ९० पैसा बढेर रु ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । मूल्य बढेका अन्य स्टकको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १४.९१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको रु ४४ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिडी पावर कम्पनीको रु ३३ करोड ५० लाखभन्दा बढी र ङादी ग्रुप पावरको करिब रु १८ करोड बराबरको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ ।
