- दैनिक दूध बिक्री ६० हजारबाट बढेर ८० हजार लिटर पुग्यो ।
- दूध बिक्रीबाट मात्रै दैनिक करिब रु ८ लाख ९१ हजार प्रारम्भिक नाफा ।
- किसानको बक्यौता रु ७२ करोडबाट घटेर रु ३५ करोडमा झर्यो ।
कमलकुमार बस्नेत/काठमाडौँ । अतिरिक्त खर्च कटौती, बिक्री विस्तार र प्रभावकारी व्यवस्थापनमार्फत वर्षौंदेखि घाटामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) नाफाको बाटोमा अघि बढेको छ । संस्थानले पछिल्लो समय दैनिक दूध बिक्री ८० हजार लिटर पुर्याउँदै किसानको बक्यौता र पुरानो ऋणसमेत घटाउँदै लगेको जनाएको छ ।
डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेका अनुसार हाल ४४ जिल्लाका सङ्कलन केन्द्रबाट दैनिक करिब ६१ हजार लिटर दूध सङ्कलन भइरहेको छ । बिक्री भने दैनिक ८० हजार लिटर पुगेको छ । बिक्री हुने थप करिब १९ हजार लिटर दूध विगतमा मौज्दात रहेको पाउडर दूध तथा अन्य सामग्रीबाट व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।
गत वैशाख १८ गते व्यवस्थापन सम्हाल्दा ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात रहेकामा अहिले क्रमशः १४० टन र १३५ टनमा झरेको डिडिसीले जनाएको छ । मौज्दात सामग्रीको बिक्री बढाउँदा संस्थानको आम्दानीमा सुधार आएको हो ।
डिडिसीले किसानबाट प्रतिलिटर रु ६६ मा चार प्रतिशत फ्याट भएको दूध खरिद गर्छ । ढुवानी र सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा प्रारम्भिक लागत करिब रु ७० पुग्ने भए पनि अतिरिक्त फ्याटबाट बटर तथा घिउ उत्पादन हुने भएकाले वास्तविक लागत प्रतिलिटर करिब रु ६४ पर्ने संस्थानको भनाइ छ ।
प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी र अन्य सञ्चालन खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूधको उत्पादन लागत प्रतिलिटर करिब रु ८२ पर्छ । डिडिसीले डिलरलाई रु ९२ मा बिक्री गर्ने भएकाले प्रतिलिटर करिब रु १० मार्जिन प्राप्त हुन्छ । दैनिक ७३ हजार लिटर यस्तो दूध बिक्रीबाट करिब रु ७ लाख ३० हजार प्रारम्भिक मार्जिन हुने गरेको छ ।
त्यस्तै पाँच प्रतिशत फ्याट भएको दूध डिलरलाई प्रतिलिटर रु १२० मा बिक्री गरिन्छ । दैनिक करिब सात हजार लिटर बिक्री हुने यस्तो दूधबाट करिब रु एक लाख ६१ हजार प्रारम्भिक मार्जिन हुने संस्थानले जनाएको छ । यसरी दूध बिक्रीबाट मात्रै दैनिक करिब रु ८ लाख ९१ हजार प्रारम्भिक मार्जिन प्राप्त भइरहेको छ । बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको आम्दानी यसमा समावेश छैन ।
डिडिसीको कुल बिक्रीमा दूधको हिस्सा करिब ८५ प्रतिशत र अन्य दुग्धजन्य पदार्थको हिस्सा १५ प्रतिशत रहेको छ । बटर, पाउडर र घिउलगायत मौज्दात सामग्रीको बिक्री बढाउनुका साथै काठमाडौँ उपत्यकामा निजी क्षेत्रसँगको समन्वयमा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ सञ्चालनमा ल्याइएको संस्थानले जनाएको छ ।
किसानको बक्यौता घट्यो
नयाँ व्यवस्थापन आउँदा किसानलाई आठ महिनाको रु ७२ करोड भुक्तानी बाँकी रहेकामा अहिले दुईदेखि तीन महिनाको करिब रु ३५ करोडमा झरेको छ । यस अवधिमा डिडिसीले किसानलाई रु ६० करोड भुक्तानी गरिसकेको जनाएको छ ।
संस्थानले किसानको बक्यौता एक महिनामा सीमित गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । खर्च कटौती, बिक्री वृद्धि र बक्यौता असुलीबाट आम्दानी बढेपछि यस अवधिमा करिब रु तीन करोड पुरानो ऋणसमेत तिरिएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।
असार मसान्तसम्म दैनिक ६०-६२ हजार लिटर दूध बिक्री गर्दै आएको डिडिसीले साउनको पहिलो सातादेखि औसत बिक्री ८० हजार लिटर पुर्याएको छ । यससँगै दैनिक बिक्री आम्दानी करिब रु ६० लाखबाट बढेर रु ९० लाख पुगेको र थप आम्दानीको रकम किसानको भुक्तानीमा खर्च गरिएको संस्थानले जनाएको छ । रासस
