RayNewsDaily
यसै वर्ष शहरी क्षेत्रमा ५जी, सन् २०३५ सम्म देशभर विस्तार गर्ने लक्ष्य
  • शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा सुरु गर्ने तयारी ।
  • सन् २०३५ सम्म देशभर ५जी पहुँच पुर्‍याउने लक्ष्य ।
  • सन् २०२७ देखि ३जी विस्थापन गरी ४जी र ५जीमा जोड दिने प्रस्ताव ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्षदेखि प्रमुख शहरी क्षेत्रमा ५जी सेवा सुरु गर्दै सन् २०३५ सम्म देशभर विस्तार गर्ने लक्ष्यसहित ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामा मोबाइल ब्रोडब्यान्डको गति, पूर्वाधार र सेवा विस्तारका लागि चरणबद्ध योजना प्रस्ताव गरिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको मस्यौदाअनुसार सन् २०२७ सम्म देशभर मोबाइल ब्रोडब्यान्डको औसत गति कम्तीमा २० एमबीपीएस र सन् २०३० सम्म नगर क्षेत्रमा १०० एमबीपीएस पुर्‍याउने लक्ष्य राखिएको छ । सन् २०३५ सम्म देशभर ५जी सेवा विस्तार गर्ने दीर्घकालीन लक्ष्य छ ।

प्राधिकरणले सेवा प्रदायकलाई प्रमुख शहरी क्षेत्रबाट ५जी सेवा सुरु गर्ने गरी चरणबद्ध कार्ययोजना पेश गर्न निर्देशन दिइसकेको छ । प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालका अनुसार ५जी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी छुट्याउने तथा बाँडफाँटको काम अघि बढाउने तयारी भइरहेको छ । सेवा प्रदायकले पनि आवश्यक प्राविधिक र व्यावसायिक तयारी तीव्र बनाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा ५जीको परीक्षण सन् २०२३ मै सुरु भएको थियो । नेपाल टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज स्पेक्ट्रम उपलब्ध गराएर काठमाडौँका बबरमहल र सुन्धारा तथा पोखरा र वीरगञ्जमा गरिएको परीक्षणमा अधिकतम १ जीबीपीएससम्मको डेटा गति हासिल भएको प्राधिकरणको मस्यौदामा उल्लेख छ ।

मोबाइल डेटा खपत पछिल्ला वर्षमा वार्षिक करिब ३० देखि ४० प्रतिशतले बढ्दै गएको प्राधिकरणले जनाएको छ । बढ्दो मागलाई सम्बोधन गर्न थप स्पेक्ट्रम, फाइबर तथा ब्याकहल नेटवर्क, स्मल सेल र आधुनिक मोबाइल प्रविधिको विस्तार आवश्यक रहेको मस्यौदामा औँल्याइएको छ ।

५जी विस्तारसँगै ३जी सेवाको चरणबद्ध अन्त्य गर्ने प्रस्ताव पनि गरिएको छ । हाल ३जी प्रयोगकर्ता तीन प्रतिशतभन्दा कम रहेकाले सन् २०२७ देखि ३जी बन्द गरी उपलब्ध स्रोत ४जी र ५जीमा केन्द्रित गर्ने रणनीति प्रस्ताव गरिएको हो । नयाँ ३जी ह्यान्डसेट तथा उपकरणको आयात रोक्ने र उपभोक्तालाई आधुनिक प्रविधितर्फ स्थानान्तरण गर्न सेवा प्रदायकले अभियान तथा प्रवर्द्धनात्मक प्याकेज सञ्चालन गर्ने प्रस्तावसमेत गरिएको छ ।

प्राधिकरणले विशेषगरी घना शहरी क्षेत्रमा नेटवर्क क्षमता बढाउन माइक्रो, पिको र फेम्टो सेलजस्ता स्मल सेल विस्तार गर्नुपर्ने जनाएको छ । दुर्गम तथा अर्धशहरी क्षेत्रमा फाइबर विस्तार कठिन हुने भएकाले फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) र फाइबर तथा माइक्रोवेभ ब्याकहलको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकता दिन प्रस्ताव गरिएको छ ।

प्राधिकरणले मस्यौदामाथि सम्बन्धित सरोकारवालाबाट १५ दिनभित्र राय, सुझाव तथा सल्लाह मागेको छ । ५जीलाई उच्च गतिको मोबाइल इन्टरनेटमा मात्र सीमित नराखी औद्योगिक स्वचालन, स्मार्ट कृषि, टेलिमेडिसिन, स्मार्ट पर्यटन र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा उपयोग गर्न सकिने प्रविधिका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update